मिलन काफ्ले, १५ वैशाख, पाल्पा - नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका निजी तथा सामुदायिक विद्यालयहरूमा भर्ना अभियान सञ्चालन भइरहेको छ। भर्ना अभियानलाई प्रभावकारी बनाउन विभिन्न शैक्षिक संस्थाहरूबीच नयाँ विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने प्रतिस्पर्धा देखिएको छ।
यसै क्रममा पाल्पाको रम्भा गाउँपालिका–४ स्थित जनहित भगवती माध्यमिक विद्यालयले नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा यस शैक्षिक सत्रमा भर्ना भएका १२ जना विद्यार्थीलाई ड्रेस, झोला, कापी, डटपेन लगायतका सामग्री वितरण गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक खुमबहादुर पौडेलका अनुसार रम्भा गाउँपालिकाबाट व्यवस्थापन तथा सञ्चालन खर्च शीर्षकमा प्राप्त बजेटबाट उक्त सामग्री वितरण गरिएको हो। साथै, यसअघि नै सबै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिसकिएको जानकारी पनि उनले दिए।
नेपाल सरकारले वैशाख १५ देखि २१ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने कार्यतालिका तय गरे पनि उक्त विद्यालयले वैशाख २ गतेदेखि नै विद्यालय सञ्चालन गरी विद्यालय सुधार योजना, शिक्षण सुधार योजना, कार्यमूलक अनुसन्धान, मामला अध्ययन, शैक्षिक सामग्री निर्माण तथा कार्ययोजना निर्माणजस्ता कार्यहरू सम्पन्न गरिसकेको जनाएको छ।

नयाँ विद्यार्थी स्वागत कार्यक्रम कार्यवाहक वडा अध्यक्ष विष्णुमाया पौडेलको प्रमुख आतिथ्यता, कार्यपालिका सदस्य बिमला जी.आर.को विशिष्ट आतिथ्यता, प्रधानाध्यापक खुमबहादुर पौडेलको स्वागत मन्तव्य, सहायक प्रधानाध्यापक राजन पौडेलको सञ्चालन तथा विद्यालय व्यवस्थापन समिति सदस्य गौतम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा शिक्षाप्रतिको चासो, लगाव र उत्साह बढ्ने विश्वास व्यक्त गरेको छ।












