राष्ट्रिय न्युज - रामपुरमा सम्पन्न वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुरले जितेकाे छ। सोमबार भएको फाइनल खेलमा दोस्रो संस्करणको विजेता टिम युनाईटेड युथ क्लव गिरुबारी, नवलपुरलाई १-० गोल अन्तरले पराजित गर्दै ज्योतिपुञ्जले तेस्रो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको हो ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहित रामपुरमा भएको प्रतियोगिताको फाइनल खेलमा पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा खेलको ७३ औं मिनेटमा सुमित श्रेष्ठले ज्योतिपुञ्जको लागि गोल गर्दै १-० को अग्रता दिलाउन सफल भएका थिए । श्रेष्ठले गरेको उक्त गोल नै उपाधिको निर्णायक बन्न पुगेको थियो ।
प्रतियोगिताको उपाधि विजेता आयोजक ज्योतिपुञ्जले नगद ३ लाख ५० हजार र उपविजेता युनाईटेड युथ क्लवले नगद २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलमा पराजित टिम अभिषेक चर्च रजहर र देवदह ब्वाईजलाई २५–२५ हजार रुपियाँ प्रदान गरिएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्योतिपुञ्ज युवा क्लवका आशिष गुरुङ हुनु भएको छ । खेल संयोजक अनिल शाहीका अनुसार उत्कृष्ट गोलकिपर ज्योतिपुञ्ज युवा क्लवका सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनाईटेड युथ क्लव गिरुबारीका सुमित मल्लाह, हाईस्कोरर देवदह ब्वाईजका आशिष जिसी, इमर्जिङ प्लेयर युनाईटेड युथ क्लव गिरुबारीका याम प्रसाद बुढा र उत्कृष्ट कोच ज्योतिपुञ्ज युवा क्लवका केशवराज श्रेष्ठ हुनुभएको छ ।
प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, समाजसेवी शेषकान्त पुरी, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना र जापानिज समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले पुरस्कार प्रदान गर्नु भएको थियो । रामपुर नगर प्रमुख थापाले प्रतियोगिताले रामपुरको पहिचान बढाउनुका साथै नयाँ खेल प्रतिभालाई आकर्षित गरेको बताउनुभयो । उहाँले किसानबारीमा रंगशाला निर्माणका लागि दुईकरोड रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष सुन्दर रानाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रम सदस्य संगिता अधिकारी पोखरेलको स्वागतबाट गर्नु भएको थियो भने सञ्चालन क्लवका सल्लाहाकार धुर्व पोखरेल र खुम सारुले गर्नु भएको थियो ।










