मानिस र अन्य प्राणीबीचको सबैभन्दा गहिरो विभाजन रेखा बोलीले कोर्छ । चरा गाउँछन्, बाँदर चिच्याउँछन्, माहुरी नाचेर फूलको दिशा बताउँछन्; तर मानिस मात्र यस्तो प्राणी हो जसले आफ्नो अनुपस्थित अतीत सम्झन्छ, अदृश्य भविष्य कल्पना गर्छ र नदेखिएको सत्यका बारेमा बहस गर्छ । भाषिक ध्वनिको यही अद्भुत क्षमताले चेतनालाई व्यक्तिको कपालभित्रबाट निकालेर साझा संसारमा ल्याइदिन्छ । त्यसैले बोली केवल सञ्चारको साधन होइन, मानवीय अस्तित्वको संरचनात्मक सर्त हो । बोल्ने कला त्यसै बोलीलाई विवेक, सौन्दर्य र नैतिकताले सुसंस्कृत बनाउने साधना हो ।>
‘बोली’ मानव जीवनसँग सम्बन्ध राख्ने विषय हो । बोली र मानव जीवनको शरीर र आत्माको जस्तो अन्योन्याश्रित सम्बन्ध छ । ‘बोल’ धातुमा ‘ई’ प्रत्यय लागेर बनेको बोली शब्दको अर्थ उच्चारण गरेको ‘शब्द’, ‘वचन’, ‘वाणी’, ‘मातृभाषा’, ‘भाषा’, ‘भनाइ’,‘अभिव्यक्ति’,‘बोल्ने वा बोलेको कुरा’, ‘डाँक’, ‘आवाज’, ‘बोलचाल’ आदि बुझिन्छ । व्याकरणिक दृष्टिमॉबोली’ नाम शब्द हो ।>
बोली (क्षमता) र बोल्ने कला (साधना) एउटै कुरा होइनन् । बोली प्रकृतिले दिन्छ, कला मानिसले आर्जन गर्छ । बोली सबैसँग हुन्छ, तर सुन्दा मन खुल्ने, तर्कले अडिने र सत्यले बाँचिने बोली दुर्लभ हुन्छ । यही दूरीमा शिक्षा, संस्कार र आत्मअनुशासनको काम सुरु हुन्छ । मान्छे धर्तीमा पाइला टेक्दा बोलीविहीन भई आएको हुन्छ । विचार वा भावना सम्प्रेषण गर्ने बोली त्यतिबेला नहुँदा अनेक समस्या पर्दछन् नाबालकहरुलाई अबोध नाबालक बच्चाले त्यसबेला चिच्याए कराए पनि सार्थक वा प्रभावकारी बोली भने निकाल्न सक्दैन । वातावरण उमेर र परिपक्वता अनुसार बोली प्रभावकारी बन्दै जान्छ । मानिसलाई पशुभन्दा श्रेष्ठ बनाउने तत्वहरु ज्ञान, विज्ञान र कलाहरु हुन् । यी तीन विषयहरू एकआपसमा अन्तरसम्बन्धित छन् । जव मानिसले आफ्नो ज्ञानलाई सुन्दर ढंगले अभिव्यक्त गर्छ तब त्यो कला हुन्छ अनि जब त्यो कलामा केही उपयोगिता थपिन्छ त्यो विज्ञान बन्छ । कला मूलतः सौन्दर्यानुभूति हो भने विज्ञान तर्कसंगत नियम पनि हो । कला र विज्ञान दुवैको मूलमा ज्ञान रहेको हुन्छ । वाणी र भाषाको कलात्मक प्रयोगलाई वाक्कला भनिन्छ । प्रवचन, भाषण, वादविवाद, परिसंवाद, वक्तृता, समाचार वाचन, पारायण, प्रत्यक्ष, प्रसारण आदि सबैमा बोल्ने कलाको महत्वपूर्ण भूमिका रहन्छ । शब्दका लेखात्मक तथा भाषात्मक दुवै स्वरूपको कलात्मक सबै अभिव्यक्तिका सबै क्षेत्र वाक्कला अन्तर्गत समेटिन्छ । वाक्कलामा पारङ्गत व्यक्ति उद्घोषण कलामा पनि विज्ञ हुन्छ । संगीतले मन तानेझैं उसको कलात्मक वाणीले सबैलाई ध्यानाकर्षण गरिदिन्छ ।>
वाक्कलाको महिमा परापूर्वकालदेखि नै रहेको छ । मानवको सम्पूर्ण पक्षीय विकास राम्ररी नहुँदा प्रारम्भमा बोलीको प्रतीकस्वरूप संकेत, इशारा, रेखाचित्र, ढुंगा, भुईँ, गुफाका भित्ता, रूखका काण्डहरूका बोक्रा फालेर रचना गरिएका आकृति आदिमा जेजसरी प्रस्तुत भए तिनै बोलीमा अभिव्यक्त गर्न खोजिएका विषय हुन् । तीन लाख वर्ष पहिलेबाट मानिसले बोली भाषाको प्रयोग गर्न थालेको अनुमान गरिएको छ । मानिस बोल्ने शैली र विधि, उपयोग र क्षमताबाट अरू प्राणीभन्दा फरक हुन सकेको हो । बोली मानव सभ्यताको परिचायक नै हो । बोली व्यक्तिको प्रतिष्ठा हो । तसर्थ यस लेखलाई बोली के हो ? कहाँ बोल्नैपर्ने हो ? के बोल्ने ? किन, कतिखेर कुन रूपमा, कसरी बोल्ने ? बोलीको उपयोगिता वा प्रयोग क्षेत्र कहाँ कहाँ हुन्छन् ? बोल्ने विषयको ज्ञान कसरी गर्ने ? आफूले बोल्दा अरूले कस्तो धारणा बनाउँलान् ? आफू बोल्दा औचित्यपूर्ण रूपमा कसरी बोल्ने ? शब्द र अभिव्यक्तिको तालमेल कसरी मिलाउने ? मीठो बोली वचनले पार्ने प्रभाव केकस्ता छन् ? जथाभावी, अर्थहीन तथा सम्बन्ध बिगार्ने, भत्काउने आदि व्यवहार भएकालाई सही बाटोमा कसरी ल्याउने ? उनीहरूमा सही र मीठो बोल्ने बानीको विकास कसरी गर्ने ? बोल्ने कुरालाई के के कुराले प्रभाव पार्दछन् ? बोली र व्यवहारको सम्बन्ध केकसरी रहन्छ ? आदि विषयमा केन्द्रित गरी आफ्ना अनुभव, देखे भोगेका सुनेका र यस विषयमा जहाँ जेजति चर्चा भएका छन् ती समेतलाई समावेश गरी अर्थपूर्ण बनाउन खोजिएको छ। बोलीको विषय चर्चा विशद् छ तर यहाँ संक्षेपमा केही जानकारी मात्र गराइएको छ । गम्भीर विश्लेषण गरे त पुस्तकको बृहत् ठेली नै बन्छ। त्यसतर्फ यस लेखलाई अहिले केन्द्रित गरिएको छैन।>
वाक्कलासम्बन्धी चिन्तनमा वैदिक सनातन हिन्दू धर्माबलम्बीहरू संसारमै अग्रणी रहेका छन् । वेद, उपनिषद्, पुराण तथा अनेक काव्यहरूमा वाक्कलाको चिन्तन छ । पश्चिमा मुलुकतिर यस्तो चिन्तन भारत वर्षमा भन्दा ढिलो मात्र शुरू भएको थियो । अरस्तुले‘रेटोरिक’काबारेमा चिन्तन गरेका थिए जो हालसम्म पनि विख्यातछ । वैदिक धर्मशास्त्रहरूमा निहित वाक्चिन्तन भने अनुपम नै छ जहाँ मानव बोलीलाई पुरूषार्थ चतुष्ट्य (धर्म, अर्थ, काम, मोक्ष) प्रदायक मानिएको छ। समाजमा हुने परिवर्तनको प्रत्यक्ष प्रभाव वाक्कलामा पनि पर्छ । जसले श्रोताको अनुभूतिलाई सम्बोधन गरी आफूतर्फ आकर्षण गर्न र आफ्ना वचनले प्रभावमा पार्न सक्छ ऊ नै सफल वक्ता ठहर्छ । बोल्नु प्रभावकारी कला हो। शिष्टतायुक्त बोलीबाट प्रभाव नपर्ने कहाँ छ र ? बोली एक आचरण पनि हो । कोही बढी बोल्न रूचाउछन् कोही कम । बोली अमृत हो । अमर बनी सद्ज्ञान फैलाउने तत्वहो । यसले हृदय पगाल्छ। आनन्दको वर्षा गराउँछ। मनलाई चुम्बकले झैँ तान्छ । छिटो माया जगाउँछ। मोहनी बोलीले संसारै आफन्त बनाउछ । श्रोता बढाउँछ । यसकै कारण नातागोता छुट्टिन्छ । बोली विझ्दा आफन्त रूठ्याउछ । सद्बोलीले सत्मार्ग देखाउँछ । बोलीबाटै व्यवहार चातुर्यताको पाठ सिकिन्छ । रूवाउने, हँसाउने यै बोली हो । बोल्न नजान्दा बाधा पर्छ । विरोध आउँदा पनि यै बोलीले समाधान खोजी मन बहलाउने कर्णप्रिय संगीतको काम गर्छ । यसबाटै साहित्य सिर्जाउछ । नयाँ ताजा कुराका जानकारी गराउँछ । सत्कर्ममा प्रेरित गर्ने तत्वमध्ये बोली पनि विशेष तत्व हो । बोली अक्षर,शब्द, वाक्य, भाषा, ब्रह्म आचार्य हो। बोली अन्त्य हुने विषय होइन । बोल्न छाडे संसार सुनसान हुन्छ । यो सभ्यता र सञ्चार पनि हो । योबिना संसार निर्जन लाग्छ। नबोले लाटो भइन्छ। केही गरी सुख छैन संसारमा। बोली प्रगतिको साधक र बाधक दुवै हो । मान्छेले बोलीबाटै नौजाल बुन्छ । परमाणु बमभन्दा शब्द धेरै शक्तिशाली हुन्छ। असल छविको मान्छे राम्रो बोल्छ। हजारौं कुराहरू नचाहिँदो पाराले प्यारप्यार गरी बोल्नुभन्दा थोरै बोल्नु वेश हुन्छ । बोल्ने क्रममा कसैलेभुइँ विर्सेर फुइँ लगाउँछन् । बोले पछि पूरा पक्का हुन वा अर्थ रहने भएमात्रै बोल्नु राम्रो हुन्छ। प्रत्येक शब्द प्रेमपूर्वक बोलिनु नै राम्रोहुन्छ। जिब्रोले भन्दा कानले धरै मित्र बनाउन सक्छ। मान्छेको जिब्रो सानो छ तर त्यो हामी सबैको शत्रु–मित्रु दुवै हुन सक्छ । तसर्थ हरेक व्यक्तिको अभिव्यक्ति उसले लगाएको लुगाभन्दा धेरै महत्वपूर्ण हुन्छ। बोल्ने भन्दैमा धेरै फत्फताउनुको कुनै अर्थ छैन । शिष्ट र आवश्यक बोलीले असहमत व्यवहारलाई पनि सहमतिमा ल्याउन सकिन्छ । बोलीले असल र उच्च व्यक्तित्वसमेत निर्माण गर्छ।>
खुसी, आवेग, रिस, प्रफुल्लता, हार्दिकता, मेलमिलाप, सामीप्यता, शत्रुता, मित्रता, रोष, हर्ष, विस्मात, पीर, आपत्ति, खतरा, कष्ट, मानसिक, शारीरिक स्थिति आदिका आधारमा बोली छुट्टिन्छ। बोली सुख साट्ने, दुःख साट्ने, भावना, विचार व्यक्त गर्ने, मनको गन्थन रवहपोख्ने आदि माध्यम हो।को कसरी बोल्छ भन्ने कुरा पारिवारिक संस्कृति, सभ्यता, संस्कार, सगीसाथी, शिक्षा, आनीबानी आदिले प्रभाव पार्छ । बिभिन्न शैलीका बोली वातावरणले ल्याउँछ । जिन्दगी सुखद् र स्वर्णिम बन्छ यै बोलीका कारण । अहितकारी र घातक हुन्छ ढटुवा बोली। छलछामयुक्त बोलीले पथभ्रष्ट बनाउँछ । पानी बाराबार, छुट्टाभिन्न अवस्था, हुलदंगा, हिंसा, मृत्यु, साम्प्रदायिकता, कालोपन, गौरव गुम्ने, मनपरी बढ्ने, भाडभैलो, संस्कार मेटिने, रीतिथिति तोडिने, खुम्चिएर बस्नुपर्ने, काँतर भइने आदिका स्थिति आउनुमा धेरै हदसम्म बोली नै जिम्मेबार हुन्छ। बोलीमा तीखो धार पनि हुन्छ। गोलीले छेड्न नसकेको बोलीले छेड्छ त्यसै भनिएको होइन । बोल्दाखेरि अवस्था, परिवेश वा समय सन्दर्भ, मनोदशा हेरेर बुझेर बोल्ने हो भने त्यो बोली अमृतमय हुन्छ। कोही कम बोल्छन् । बानी नै त्यस्तै हुन्छ, धेरै बोल्न आवश्यक ठान्दैनन् । कोही चाहेर पनि बोल्न सकिरहेका हुन्नन् । बोलेपछि त्यसको अर्थ र मान्यता रहनै पर्छ । अन्यथा किन बोल्ने ? ठिक्क बोले प्रिय भइन्छ। धेरै बोल्दा विश्वास गुम्छ। अचेल त टेलिफोन, इन्टरनेट, चलचित्र, टेलिफिल्म आदिमा बोली नै बिक्छ । समाजमा अधिकांशको समय बोलेरै बित्छ। कर्मचारी, शिक्षक, प्राध्यापक, वकिल, नेतालाई पनि नबोली सुखै छैन । नबोले त कसैको पनि दैनिकी र व्यवहार नै चल्दैन । कुनै बेला कुनै बोली कसैका लागि शुरूमा तीतो करेलाजस्तो लागे पनि त्यो हितकारी नै हुन्छ । सुन्नेभन्दा बोल्नेकै संख्या छ अचेल । सबै बोलिरहने हो भने सन्ने कसले ? यो समस्या पनि छ समाजमा अचेल । धेरै बोल्नेले बोलेअनुसार काम नगर्न सक्छ । बोल्ने फूर्ति देखाउने र काम विगार्ने पनि यही समाजमा छन् । प्रायः नेता धेरै बोल्छन् । बोलेअनुसार गरेर नदेखाउँदा उनीहरू समाज–राष्ट्रमा बढी आलोचनामा पर्छन् । भनिन्छ, –“अमृतसरी हो वचन, वचन नै बन्छ जहर ।” मान्छेलाई तडकभडकयुक्त आवरणले होइन बोली व्यवहार, विचार एवं आचरणले महान् बनाउँछ । नम्र बोली वचनमा महानता र भद्रपन देखिन्छ। हकारेर बोल्ने, ठामछुम गरेर हिँड्ने, घमण्ड गर्ने, उत्ताउलो भई हिड्ने आदि सबै असामाजिक, अशोभनीय र निन्दनीय व्यवहार हुन्, असल व्यक्तित्व निर्माणका लागि बाधक हुन् । तसर्थ सकारात्मक र थोरै मिठास शब्द बोल्नु पर्छ। बोल्नुभन्दा अघिको जिब्रो आफ्नै नियन्त्रणमा हुन्छ । बोलीसकेपछि पछुताउन कहिल्यै नपरोस्, त्यै हो बोल्नुको सार्थकता।>
जहाँ, जुन ठाउँमा आवश्यक पर्छ त्यही हो बोल्ने । सम्भाब्य असर र परिणाम ख्याल नगरे ठूलो दुर्घटना हुन्छ यसकै कारण। जिब्रो सम्हाल्नै पर्छ जो कोहीले पनि । सिद्धान्त र आदर्श घोकेर मात्र सही बोली निस्कन्न । आत्मरति गर्ने बोली पनि सामाजिक हितमा हुन्न । यस्ता बोलीले कसैलाई छुन्न । बोलीब्रह्माजीको उँटजस्तो कृतिम हुन्छ । नरम र वास्तविक व्यावहारिक रूपमा बोल्नेहरू खासा वा गजबका मान्छे भनेर चिनिन्छन् । जागिर वा अन्य प्रयोजनमा समेत बोलीको परीक्षा महŒवपूर्ण हुन्छ। सुखी र खुसी जीवन निर्माण गर्न यसको महŒव कम्ता छैन । मित्रता र सद्भाव कायम राख्न बोलीको भूमिका महŒवपूर्ण नै हुन्छ । यसबाट व्यक्तिको आत्मविश्वास र आत्मबल कति छ भन्ने पनि छुट्टिन्छ। >
ललिते, लोकचार, कृतिम, भकभके, ढाँट, चेपारे, गम्भीर, चट्पटे, मोहनी, सुरिलो. धोन्द्रे, हँसिलो, सत्य, खरो, रूखो, लयालो, कुटनीतिक, चामत्कारिक, जादुमय, छेपारे, ओँठे, भाषणे, नरम, चर्को, गरम, चुत्को, ठट्यौलो, छुद्र, कर्कसा, भँवरे, लपाके, खस्रो, हुकुमी, छड्के, हेपाहा, रिसाहा, मनमोहक, रोचक, घोचक, वर्णशंकर आदि बोलीका प्रकार वा बोल्ने शैली हुन् । समाजका मान्छेका अभिव्यक्ति यिनैमध्ये एक न एकरूपमा प्रकट भएकै हुन्छन् । बोल्ने मान्छेले परिस्थितिअनुसार ठाउँठेगानले बोल्नुपर्ने भएकाले विषयवस्तुका आत्मविश्वास,भाषाको गहिरो अध्ययन, शब्द चयन, वाक्य गठन, मिठासपन, उखान टुक्का र आदर्श वाणीको प्रयोग, स्मरण, हाउभाउ, निर्भिकता, मानसिक तनावरहित, रसिलो तथा प्रफुल्लित चेहरा, तडकभडकरहित व्यवहार, आँखाको सम्पर्क, आदर सम्मान, सरल, संक्षिप्त र नअल्मलाउने खालको बोली, उचित बानी व्यवहार, साधारण पहिरन आदिजस्ता धेरै कुरामा ख्याल गर्नुपर्छ । व्यक्तिमा परिपक्कता र जवाफदेहिता हुनुपर्छ । के बोल्दा के परिणाम आउँछ भन्ने नजान्नेहरू मौन बसेकै राम्रो हुन्छ । व्यवहार चलाउने सम्बन्ध राख्ने र जिन्दगीका परीक्षा जाच्ने बोली एकै किसिमका हुन्नन् सायद।>
बोल्नेले जति नै कलात्मक ढंगले बोलेको छ भन्ठाने पनि श्रोताले मन नपराइदिएमा ऊ सफल हुन्न । सैद्धान्तिक ज्ञानले व्यावहारिक दक्षता बढाउँछ भने व्यावहारिक दक्षताले मात्र सैद्धान्तिक ज्ञानको सार्थकता हुन्छ। व्यवहारमा उतार्न नसकेको ज्ञान काम लाग्दैन । ज्ञान बिनाको व्यवहार उपयुक्त हुन्न । सैद्धान्तिक ज्ञानको लागि बढी अध्ययन र चिन्तनमनन गर्नुपर्छ । आकर्षक बोल्ने कलाको प्रशंसा सदैव जहाँसुकैहुन्छ । वाणीको क्षमताले प्रसिद्धि कमाउनेहरूका कीर्ति फैलेका अनेक उदाहरणहरू पाइन्छन् । पहिले कुशल वक्ताले नाम बढी कमाउथे। आहिले नाम र दाम दुवै कमाउने अवस्था छ । वाक्कलाले पेशाको रूप लिएको छ । एउटा कार्यक्रम सञ्चालन गरेको पारिश्रमिक हजारौं डलर लिनेहरू छन् । स्टेज उद्घोषण, रेडियो, एफ एम, टी. भी. लगायतका मिडियामा काम गरेर पारिश्रमिक आकर्षक रूपमा पाउने दिन आएका छन् । बोलीमै रोजगारी मिल्ने अवस्था आइरहेको छ। बिना बोली मनका भाव विचार बुझिन्न। बोलीमा विगार्ने, सपार्ने वा विकास गर्ने शक्ति वा तागत हुन्छ। बोलीको सन्तुलन मिलाउन गाहो छ समाजमा । बोलीको हिर्काइले व्यक्तिमा मानसिक चिन्ता वा विक्षिप्तता ल्याउछ । सम्बन्ध सिसा फुटेसरि फुट्छ । जसले यसलाई ख्याल गर्दैन ऊ पर्छ फेला, समाज–परिवारकै हुन्छ हेला । भोगाइ र अनुभूतिले पनि के बोल्नुपर्दो रहेछ भन्ने कुरा सिकाउँछ । बोली अन्तरहृदयको आवाज हो । अन्तरहृदय कहिल्यै पनि झूटो बोल्दैन । धेरै बकबक गर्दा झुट पनि बोल्न सकिन्छ । अर्कालाई हानी हुनेगरी बोल्न सकिन्छ उस्तै परे । त्यसैले कुनै पनि कुरा बोल्दा अन्तस्करणको आदेश लिएर बोल्नुपर्छ। वाक्कलाको प्रतिष्पर्धामा विजयी हुन बारम्बार अभ्यास गर्नुपर्छ।>
वैदिक कालमा सुरहरूले प्राणीहरूसँग वार्ता गर्न सरमालाई रोज्नुको कारण उनको वाक्कला थियो । भगवान श्रीकृष्ण, वेदव्यास, बुद्ध, शंकराचार्य, सुकरात, प्लेटो, अरस्तुजस्ता व्यक्तिको विद्वता र वक्तृताको कीर्ति अहिलेसम्म चर्चित छ । राम्रो बोल्ने खुवीको महŒव जुनसुकै युगमा पनि थियो र हुनेछ पनि । विश्वमा चर्चा कमाएकाहरू महात्मा गान्धी, विन्सटन चर्चिल, एडोल्फ हिट्लर, माओत्सेतुङ, बिल गेट्स, विवेकानन्द, अब्राहम लिंकन, डायना, अब्दुल कलाम, अर्ल चाल्र्स स्पेन्सर, जर्ज बुस, फ्रेंकलिन डेलाना रूजवेल्ट, हिलारी, रोधाम क्लिन्टन, इन्दिरा गान्धी, जवाहरलाल नेहरू, जोन एफ कनेडी, कोफी अन्नान, मार्क ट्वाइन, मदर टेरेसा, नेपोलियन बोनापार्ट, पोप जोन पोल, महारानी एलिजावेथ प्रथम, सुवासचन्द्र बोस, टिम कोलिन्स, जर्ज वासिङ्टन, वी.पी. कोइराला, महाकवि देवकोटा, मदन भण्डारी लगायतका विदेशी तथा स्वदेशी व्यक्तिहरूको अभूतपूर्व सफलतामा बोल्ने कला पनि प्रमुख कारक नै मानिन्छ । नेपालमा पनि बाचन शिरोमणि पं नारायणप्रसाद पोखरेल लगायतका भागवत कथा वाचक व्यक्तित्वहरू युगले नभुल्ने व्यक्तित्वहरू नै हुन् । धार्मिक, दार्शनिक, राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक सफल व्यक्ति बन्न वाक्कलामा पोख्त हुनुपर्छ । यो संसारमा बोल्न प्रायः सबै खोज्छन् । संसार नै बोल्नेहरूको हो तर कहाँ बोल्ने, के बोल्ने, कसरी बोल्ने भन्ने सबैले जान्दैनन् । यसैका कारण कैयन् मान्छे समस्यामा पर्छन् । पछुताउँछन् र पुर्पुरो ठोक्छन् । आखिर समस्याको निकास पनि बोलीबाटै त आउँछ।>
कसैले सोच्ला बोल्दैमा के हुन्छ र ? जति बोले पनि हुन्छ र जे बोले पनि हुन्छ तर त्यसो होइन । शब्दमा महान् शक्ति हुन्छ। शब्दले पहाडै फुटाउन सक्छ । संसारमा मानिसले जति पनि दुःख पाएका छन् प्रायः जसो आफ्नै बोली रवचनकै कारणले पाएका छन्। अरू कुरा फिर्ता लिन दिन पनि सकिन्छ तर बोलेको बोली र हानेको गोली कहाँ कहिले यो फिर्ता भएको छ र ? संसारमा जतिपनि सम्बन्धहरू चिसिएका छन् प्रायः सबै बोलीवचनकै कारण निम्तिएका छन् । बोल्ने भन्ने कुरो खेल्वाटको विषय होइन भन्ने कुरा सबैले बुझ्नै पर्छ । बोलीबाटै विझ्किएको सम्बन्ध कहिल्यै नजोडिने पनि हुन सक्छ । बोलीकै विषयबाट देशविदेशका प्रतिष्ठित व्यक्तिहरूसमेत विवादमा तानिएका छन् । साधारणरमध्यमस्तरका मान्छेको यो विषय त भनिसाध्य छैन । नेपालमा पूर्व राष्ट्रपतिको विपक्षी दलको प्रमुखप्रति विवादात्मक अभिव्यक्तिगत आक्रोश, पूर्व मन्त्रीको अभिव्यक्तिले तानेको विवाद र राजीनामा, पूर्व प्रधानमन्त्रीका केही अभिव्यक्ति, गण्डकी प्रदेशका तत्कालीन मुख्य मन्त्रीको कुनै बेलाको बोलीले तरङ्गनै ल्यायो। >
बोली र बोल्ने कलाबारे विद्वानका धारणा>
बोली र गोली निस्किएपछि फर्किएर आउँदैन। – अज्ञात >
तबसम्म कोइली मौन साधना गरेर बस्छ जबसम्म सबै जनालाई आनन्द दिने वाणी प्रारम्भ हुँदैन।– कौटिल्य >
जुन मान्छे चुप लागेर बस्न सक्दैन, त्यस मान्छेले राम्रोगरी बोल्न सक्दैन।–थोमस फुलर >
आफू कम बोल्नुहोस् अरूका कुरा सुन्नुहोस्, केही सोध्नु छ भने नम्र र शिष्ट भएर सोध्नुहोस्, बोल्नैपर्ने अवस्थामा मात्र बोल्नुहोस् । –स्वेट मार्टेन >
पहाडको चरो पहाडकै लयमा बोल्दछ। –लक्ष्मीप्रसाद देवकोटा >
जबसम्म बोली तिम्रो मुखबाट बाहिर निक्लदैन तबसम्म तिम्रो अधीनमा रहन्छ,जब त्यो मुखबाट बाहिर निक्लन्छ अनि तिमी त्यसको अधीनमा हुन्छौ । –सुकरात>
कि ठीकसँग बोल, कि ज्ञानी चुपझैँ चुप लागेर बस। –जर्ज हर्बर्ट >
मीठो बोलीको बदलामा नै मीठो व्यवहार पाइन्छ। –भर्तृहरि>
व्यक्तिको स्वभाव उसको बोलीले देखाउँछ रूपले होइन । –अज्ञात >
अरूको नमीठो बोली सुनेर पनि उत्तम मानिस सधैं मीठो बोल्छ। –अज्ञात >
पशु बोल्न नसकेर दुःख झेल्छ भने मानिस बोलेर । –लुकमन >
बोलीजस्तो सुन्दर आभूषण यस संसारमा केही छैन।–भर्तृहरि >
जति नै दुःखको विषय किन नहोस् त्यसका बारेमा चर्चा गर्दा कठोर भाषाको प्रयोग नगर। –महात्मा गान्धी >
केही बताउन होइन त्यसलाई लुकाउन सच्चा बोलीको प्रयोग हुन्छ। –अज्ञात >
नमीठो बोली पशुलाई समेत मन पर्दैन । –गौतम बुद्ध >
न्याय वचन तरवार भन्दा धारिलो हुन्छ । –सिड्नी >
कटु वचनबाट लागेको चोट कहिल्यै निको हुदैन । –वेदव्यास >
जिब्राको जादू सबैभन्दा भयङ्कर हुन्छ।–जोन्सन>
राम्रा कराहरू बोल्दा, बोल्दा छिटो र सजिलो भएपनि तिनका प्रभाव र असरहरू वास्तवमा अनन्त छन् । –मदर टेरेसा>
हितकारी तर अप्रिय वचन बोल्ने र सुन्ने मानिस पाउन दुर्लभ छ । –बाल्मीकि >
वाणले घाउ बनाएको तथा काटिएको वनमा आँकुरा र पालुवा पलाउँछन् तर नमीठो वचनले बनाएको घाउमा खाटा बस्दैन।–वेदव्यास >
मुखबाट निक्लिएको कटु वचनले मर्ममा नै प्रहार गर्छ । त्यसबाट घाइते मानिस रातदिन छट्पटाइरहन्छ । त्यसैले विद्वान मानिस अरूमाथि यस्तो कटु वचन बोल्दैन। –वेदव्यास >
हितकारी र मीठो बोली दुर्लभ छ।–भारवि >
तपाईंको वचन अमृत छ। यदि चन्द्रमाबाट अमृत बर्सन्छ भने कुन आश्चर्य हुन्छ र ? –कालिदास >
अरू आभुषणहरू नष्ट भएर जान्छन् तर वाणीरूपी आभूषण रहिरहन्छ। –भर्तृहरि >
हामी के चाहन्छौं त्यो बताउनलाई होइन, तर त्यसलाई लुकाउनलाई बोलीको सच्चा प्रयोग गरिन्छ। –अज्ञात >
हृदय भरिएपछि मुख बोल्छ। –न्यु टेस्टामेन्ट >
बोली आफैभित्र सभ्यता हो। परस्परविरोधी बोलीहरूले पनि एक प्रकारको सम्पर्क कायम राख्दछन् । मौनताले केवल सामाजिक सम्पर्कबाट हामीलाई टाढा राख्दछ। –अज्ञात >
निष्कपट बोलीले स्वतन्त्रतालाई जगाउँदछ अनि मनुष्यको हृदयमा ज्ञान उत्पन्न गराउँछ।–वेकन >
धेरै बोल्नाले व्यर्थर असत्य शब्द मुखबाट निस्कन्छ, अतयव कर्म क्षेत्रमा जति थोरै मात्रामा बोल्दा काम चल्दछ त्यति नै बोल्दा काम चल्दछ त्यति नै बोल्नुपर्दछ। –विजय कृष्ण >
काम नलाग्ने बोली मुखबाट न निकाल्नु ठूलो श्रेय छ।–कार्लाइल >
बोल्नु बडो अनमोल हो, पहिला हृदयरूपी तराजुमा शब्दहरूलाई तौलिएर मात्र मुखबाट निकाल्नुपर्छ।–कवीर >
आफ्नै बोलीले मानिस धेरैजसो आफै उत्तेजित हुन्छन्। –डिजरेली >
धेरै बोल्नु मिथ्यावादीको लक्षण हो।–उ. स्वामी >
ईश्वरले मानिसलाई दुई कान दिएका छन्, परन्तु मुख एउटा मात्र दिएको छ यसको तात्पर्य धेरै सुन र थोरै बोल। –टेम्बल >
बोलीको मुख्य उद्देश्य आफ्नो अभिप्राय प्रकट गर्ने होइन, परन्तु त्यसलाई छिपाउनु हो। –गोल्डस्मिथ >
सुयोग्य भाषण(बोली) ध्यानपूर्वक सुनिदिने मानिस संसारमा विरलै पाइन्छन् ।–डिकेन्स >
संसारमा मानिसको प्रथम कर्तव्य बोल्नु हो, संसारी जीवनको यो प्रथम व्यवसाय हो।–स्टोविन्सन >
मुर्ख र त्यसको बोली चाँडै नै पृथक भइहाल्छ।–सस्टान >
कुनै मानिसका विषयमा यस्ता कुरा नगर जुन कुरा उसका अगाडि गएर भन्न सकिदैन। –श्री काशीनाथ>
विनासकालमा तथा मृत्यु समीप आएको बेलामा कसैलाई हितका कुरा मन पर्दैन। –वाल्मीकि>
जिब्रो मनको दर्पण, चेहरा हृदयको । भित्रको भावलाई जति छिपाउने कोशिस गरे तापनि चेहराले जनाइहाल्छ। –म सरीं >
जिब्रोमा अमृत हुन्छ बोल्न जानून यदि कोही। सर्प विष ओकल्दछ हिलाउन जिब्रो त्यसको कोही। –सन्त कविरदास >
संसारमा जतिपनि ठूला काम भएका छन्, लेखेको शब्दले भन्दा बोलेका शब्दले भएका छन्। –हिटलर >
राम्रो व्यवहार तथा नरम शब्दले जस्तै ठूल्ठूला कठिन कार्य पनि सजिलै पार लगाउन सकिन्छ। –ब्रोनबाख >
मेरो बोल्ने मुखलाई नथून, आउने समाजको आह्वान गर्छ, मेरो मुखले लेख्ने कलमलाई नथाम, आगामी सत्यलाई इङ्कित गर्छ, मेरो कलमले मेरा गोडामा नेल नलगाऊ, नयाँ बाटोलाई पहिल्याउनु छ मेरो गोडाले।–वीपी कोइराला >
बोल्नुभन्दा अघि अरूको भावना बुझ्नु राम्रो हुन्छ।–अज्ञात >
प्रशन्न मनले बोल्ने वा काम गर्ने व्यक्तिलाई सुखले कहिल्यै छोड्दैन। –गौतम बुद्ध>
ज्ञानी मानिसका बोलीले एडीको काम गर्छ। –एल्किजियस्टव्यू>
जस्तो साधारण मानिसहरू बोल्दछन त्यस्तै बोल्नू, जस्तो ज्ञानीहरू विचार गर्छन् त्यस्तै विचार गर्नु । –रोजर आँरहाँम>
धेरै कुरा कथ्न जानेर मात्र कोही पण्डित हेर्दैनन, क्षमाशील, अवैरी, निर्भय जो हुन्छ त्यही व्यक्ति पण्डित हो। –भिक्षु धम्मपद >
जब तिमीसँग बोलिन्छ तब बोल, जब तिमीलाई बोलाइन्छ तब आऊ। –जोन रे >
प्रिय वचन बोल्नेहरूका निम्ति कोही पनि शत्रु हुँदैनन् । –चाणक्य >
म थोरै बोल्छु किनभने मलाई थोरै भूल गर्नु छ। –आ. कृपलानी >
बोलीले नै व्यक्तिको चरित्र, व्यक्तित्व र विचार स्पष्ट पार्छ। –श्री सत्यसाइबाबा >
धेरै सुन थोरै बोल।–वियास >
नबोलिएको शब्दले कहिल्यै हानि गर्दैन। –कोसुय >
ठगले सत्य बोल्दा पनि विश्वास गरिदैन। –सिसेरो >
तबसम्म कोकिल मौन साधन गरेर बस्छन्, जबसम्म सबैजनालाई आनन्द दिने वाणी प्रारम्भ हुँदैन । –कौटिल्य >
केवल राम्रो मात्र नबोल, केही राम्रो पनि गर। –थोरो >
कम बोल्नु बढी सुन्नु थोरै पढ्नु बढी सोच्नु नै बुद्धिमान बन्ने उपाय हुन्। –रविन्द्रनाथ टैगोर >
कठोर तीखो वचनरूपी वाण कसैलाई पनि प्रहार गर्नुहुँदैन। –चारूचर्या >
मीठो बोली, दया, मैत्री समान चित्त प्रसाधक अर्को केही छैन। –महाभारत >
उक्ति, नीतिशास्त्र, पुराण आदिमा बोलीको बखान :>
विद्वानहरूका अतिरिक्त नीति शास्त्र पुराण आदिमा पनि बोलीका बारे बखान भएका छन् । केही उदाहरणहरू यहाँ अघि सार्न सकिन्छ :>
साचो बोल्यौ भने प्रिय हुँदैन तर प्रिय बोल्यौ भने साँचो हुँदैन। –संस्कृत सुक्ति >
नम्र उत्तरबाट क्रोध शान्ति हुन्छ तर टर्रो बोलीबाट क्रोधको आगो दन्किन्छ। –बाइबल >
जो बोल्छ ऊ बिऊ रोप्छ, जो सुन्छ ऊ बाली भित्र्याउछ। –रूसी उखान >
व्यर्थको कुरा बोल्नुभन्दा मौन रहनु उत्तम हो। यो वाणीको पहिलो विशेषता हो । सत्य बोल्नु वाणीको दोस्रो विशेषता हो। प्रिय बोल्नु तेस्रो विशेषता हो। धर्म बोल्नु चौथो विशेषता हो। –महाभारत >
न शत्रु, न अग्नि, न शस्त्र, न विषले मानिसलाई सन्तप्त बनाउँछ जति तीतो बोलीले बनाउँछ।–संस्कृत उक्ति>
वाणीको कठोरताले समस्या बढाउछ , त्यसैले असल मानिस सदैव शिष्ट बोल्छ। –अथर्ववेद >
हृदय भरिएपछि मुख बोल्छ। –बाइबल >
मेरो जिब्राको अग्रभागमा मधुरता रहोस् । मेरो जिब्राको मध्य भागमा पनि मधुरता रहोस्। –अथर्ववेद >
प्रियजनले बोलेको मीठो वाक्यझै मीठो बन्छ। –विष्णु पुराण >
प्रिय वाणी सबैलाई मीठो लाग्छ भने मीठो वचन बोल्न किन दरिद्रता ?–संस्कृत उक्ति>
सत्यं ब्रुयात् प्रियं ब्रुयात् नब्रुयात सत्यम प्रियम् >
प्रियंच नानृतम् ब्रुयात् एस धर्म सनातन : >
(सत्य बोल तर प्रिय ढङ्गले बोल। अप्रिय सत्य नबोल। प्रिय छ भन्दैमा असत्य >
नबोल । यही नै हाम्रो परम्पराको गुण हो ।)>
प्रियवाक्यप्रदानेन् सर्वे तुष्यन्ति जन्तव : >
तस्मात्त देव वक्तव्यं वचने का दरिद्रता – चाणक्य नीति १६।१७(मधुर वचन बोल्नाले सबै जीव सन्तुष्ट हुन्छन् अतः त्यही बोल्नु उचित हुन्छ। वचनमा दरिद्रता किन?)>
संसार विष वृक्षस्य द्वे फले अमृतोपमे सुभाषित च सुस्वादु संगति सज्जने जने।>
–चाणक्य नीति १६।१८ (संसाररूपी विषवृक्षका दुईवटा मात्र अमृततुल्य फल छन् । रसिला प्रिय वचन र सज्जनसितको संगति। >
– नित्यं मनो पहारिणा वाचा प्रह्लादयेज्जगत् – शुक्रनीति १।१६५ (मीठो बोलीले सबैलाई खुसी गराओस्) >
–मदरक्तस्य हंसस्य कोकिलस्य शिखण्डिन ः हरन्ति न तथा वाचो यथा वाचो विपश्चिताम्। –शुक्रनीति १।१६८>
(जति मीठो बोली विद्वानको हुन्छ, त्यति । मीठो बोली मदमत्त भएको रजहाँस, कोइली र मयुरको पनि हुँदैन ।) >
–ये प्रियाणि प्रभावन्ते प्रियमिच्छन्ति सत्कृतम् श्रीमन्तो वन्द्यचरिता देवास्ते नरविग्रहा।– शुक्रनीति १।१६९ (जति मानिस मीठो बोल्छ, सत्स्वागतको इच्छा गर्छ, जसको व्यवहार निर्मल छ त्यो मानिस मानिसको शरीर लिएको देवता नै हो। >
–नहीदृशं संवननं त्रिषु लोकेषु विद्यते दया मैत्री च भूतेषु दानं च मधुरा च वाक् । –शुक्रनीति १।१७० (सबै प्राणीमा दया गर्नु, मित्रता राख्नु, मौका दिनु र मीठो बोल्नु यसभन्दा जगत्लाई वश गर्ने अर्को उपाय छैन ।) >
–इदमन्धं तमः कृत्स्नं जायेत भुवनगयम्। यदि शब्दाह्वयं ज्योतिरासंसारं न दीप्तये। –आचार्य दण्डी (काव्यादर्श) >
(संसारभर शब्दरूपी ज्योति नबलेको भए तीनै भुवन निष्पट्ट अँध्यारो हुँदो हो।) >
–परोक्ष कार्यहन्तारम् प्रत्यक्ष प्रियवादिनं >
वर्जयेत् तादृसम मित्र विषकुम्भम् पयोमुखम्। >
(पछाडि अर्काको विगार्दै हिंड्ने र अगाडि मीठो बोल्ने तर मुखमा अमृत र पेटमा विषको घैंटो भएको त्यस्तो मित्रलाई त्याग्नुपर्छ।) >
काँढा विझ्छ तुरून्त झिक्छ पिनले जो दुख्छ एकै छिन >
बोली विझ्छ जसै चसक्क मुटुमा निस्कन्न आजीवन >
(भीमनिधि तिवारी–तिवारी सुक्ति संग्रहबाट)>
बोलौं मीठो बोली >
झरनाको पानीझै >
दुई आँखाको नानीझैँ ।>
–ताराप्रसाद श्रेष्ठ । (झरनाको पानी रोइला संग्रहबाट) >
उखानमा बोली र बोल्ने कलाको सन्दर्र्भ>
बोलीको महत्व नभएकोभए यति धेरैचर्चाको विषय हुने थिएन । बोलीका विषयमा गीत, कविता, कथा, निवन्ध, आदिमा पनि उत्तिकै बखान भएका छन् । त्यस्तै लोक साहित्य भित्रको उखानमा पनि यसका निकै चर्चा भएका छन् । बोली विषयक केही उखानहरू यहाँ प्रस्तुत गरिएको छ । कतिपयका अर्थ र आशय एकै हुँदाहुँदै पनि अभिव्यक्तिगत प्रस्तुति शैली फरक भएकाले ती सबैलाई समेटिएको हो। >
–सय मुख हजार बात ।>
–जाने बोल, नजाने जिउको मोल ।>
–रोटी चिल्ला मीठा, कुरा खना मीठा ।>
–बोलक्कड भएर मात्र हुँदैन बुझक्कड पनिहुनुपर्छ।>
–बोल्यो कि पोल्यो ।>
–थुतुनो र मुतुनो जोगाउनु पर्छ ।>
–वचनले कुटेपछि लाठाले कुट्नुपर्छ र ?>
–साँचो बोले संसार चिढिने, झूटो बोले सबैरिझिने ।>
–साँचाको बोलवाला झूटाको मुख काला ।>
–बोलक्कड नौसिन्दा नायवका अगाडि चुप ।>
–बोल बोल मछली मुखभरि पानी ।>
–बोली मीठो पेट कालो।>
–बोली खस्यो कि कुरा फुस्क्यो ।>
–बोली, गोली, पानी कहिल्यै फर्कन्नन् ।>
–बोलीचाली केही नाइँ सुत्नाको मात्र ताइँफाइँ ।>
–लिनुदिनु केही छैन, मुखको तीतो पोख्नु ।>
–बोलीचाली धेरै मीठो, चलन व्यवहार साहै छोटो ।>
–बोलीवचन पनि मीठो, लिनुदिनु पनि छिटो छिटो ।>
–बोली बन्द वाक्यै बन्द ।>
–बोलीभन्दा गोली मीठो ।>
–वचनको चोट मनको घाउ ।>
–वचनले पिटेपछि लौरो चाहिँदैन ।>
–वचने किं दरिद्रता?।>
–सच्चा बोल जगत्मा अमोल ।>
–बोली नखुली मानिस चिनिदैन ।>
–बोले दशा लाग्छ नबोलेकै जाती ।>
–बोलीवचन पनि मीठो दिनू, छिटोछिटोलिनू पनि ।>
–बोल्न नजान्ने रूनुपर्छ ।>
–बोलीवचन त मीठो खानु पाउनु त गिठैगिठो ।>
–बोली र गोली कहिल्यै फर्कन्नन् ।>
–बोले बाबु रिसाउने नबोले आमा रिसाउने ।>
–बोल्न नजाने इज्जत जान्छ ।>
–बोल्न नजाने लेख्नुपर्छ हग्न नजाने सोहोर्नुपर्छ ।>
–बोली मसिनो पेटमा करौंती ।>
–बोल्न त मन थिएन तर के गर्ने लोग्नेको धोती देख्दा बोल्न करै लाग्यो ।>
–बोल्नु थोरै बुझ्नु धेरै ।>
–बोल्न पाएँ भन्दैमा प्वाक्क नबोल्नू, खान पाएँ भन्दैमा क्वाप्प नखानू, बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नू ।>
–बोल्दामा नै इज्जत आउँछ बोल्दामा नै इज्जत गुमाउँछ ।>
–बोल्नमा नै इज्जत बढ्छ बोल्नमा नै पर्दा खुल्छ ।>
–बोल्नुका अगाडि बोली तौली अनि मुख खोल्नू ।>
–बोल्नुचाल्नु केही नाइँ सुत्नुबाहेक अरू काम नाही ।>
–बोल्नेको पीठो बिक्छ नबोल्नेको बास्मती चामल पनि बिक्दैन ।>
–बोल्नेको मुख थुन्न सकिन्न ।>
–बोल्ने भुल्छ, गर्ने चुक्छ, हिड्ने लड्छ ।>
–बोल्यो कि पोल्यो पोल्यो कि खोल्यो ।>
–बोले टर्छ हाने मर्छ ।>
–बोलेर टाठो र दगुरेर छिटो भइँदैन ।>
–बोलेर साध्य र नुहाएर उपाध्ये हुँदैन ।>
–बोलौ भने मुख मैलो नबोलौ भने डढ्यो थैलो ।>
–बोल्ने देख्दैन देख्ने बोल्दैन ।>
–बोल्नै नपर्ने केटा हेर्नै नपर्ने केटी ।>
–नबुझी बोल्नु र सुन्निएर मोटाउनु एकै हो ।>
–एउटा झूट लुकाउन सयवटा झूट बोल्नुपर्छ ।>
–पिट्नेको हात समाउन सकिन्छ बोल्नेको मुख समात्न सकिन्न ।>
–गर्नेले बोल्दैन बोल्नेले गर्दैन ।>
–धनुवाणको चोटले भन्दा मुखवाणको चोटले बढी दुख्छ ।>
–मुर्दा शान्तिभन्दा कान खाने हल्ला नै वेश ।>
–कमानबाट निस्केको वाण र जमानबाट निस्केको वाणलाई कसैले पनि रोक्न सक्दैन ।>
–हिर्काएको भन्दा ताकेको दुख्छ ।>
–प्रष्ट वक्ता सुखी भवेत् ।>
–कुराले हात्ती चढाउँछ, कुरैले हात्तीको पयरमा पनि पु¥याउँछ।>
–भव्य विचार पनि भव्य वाणीको अभावमा निस्तेज हुन जान्छ ।>
–मुख भए मुलुक हुन्छ ।>
–जस्तो पिउछौं पानी त्यस्तै हुन्छ वाणी ।>
यी सबै उखानहरूका अर्थ र आशय विश्लेषण गर्दा लेखको आकार ठूलै बन्न जाने भएकाले केवल उखान प्रस्तुतिमा मात्रै सीमित गरिएको छ। >
मिष्ठ वचनले वैरीहरूको मन पगाली आफ्नो बनाउन सकिन्छ। मान्छे यस्तो हुन सकोस् कि खुकुरी बोकेर आएको राक्षस पनि उसलाई देखेर नमस्कार गरेर फर्कोस्, पाउमा परोस्। यो शक्ति सानो तपस्याले प्राप्त हुने शक्ति होइन। वचनवाणले कसैलाई पनि चिढाउनु हुँदैन । चर्को बोलीले दुश्मनी बढाउँछ । यस्तो बोली स्वास्थ्यका लागि समेत घातक हुन्छ । वन वरू पलाउन सक्छ परन्तु वचनवाणले घायल बनेको मन पुनः पलाएर आउन गाह्रो छ। भनिएको छ– >
संरोहति शरैविध्दं वनं परशुना हतम् । >
वाचा दुरूक्नसनं संरोहति वाक्क्षतम् ।।>
(कतिपय व्यक्तिको बोलीमा सिद्धि हुन्छ । उसका कुरा समाजले सजिलै काट्न सक्दैन।)>
जस्तोसुकै व्यक्तिलाई पनि सद्वचनले कावुमा लिन सकिन्छ । कुभावना भएको कुकृत्यमा लागेको व्यक्तिलाई उचित वातावरण दिन सकियो वा उसको वास्तविक समस्या पत्ता लगाएर व्यवहार गरियो भने ऊ असल नागरिक बन्न सक्छ । वाणीलाई सदुपयोग गर्न सक्ने हो भने हरेक मानिसले जीवन सार्थक बनाउँछ । तसर्थ वाणी अनुद्वेगकारी हुनुपर्छ। बोलेपछि सुन्नेको मनमा उकुसमुकुस नहोस् । पीडा उत्पन्न नहोस् । मीठासरशीतलता प्रदान गरोस् । शान्ति होस्। सन्तोष होस् । श्रोताको भलो हुने खालको सत्य बोली होस् । प्रिय र हितकारी होस् । अनर्थ नहोस् । आफूसँग भएको सबै कुरा बोल्नु हुँदैन । वाणी पनि धन हो। सबै प्रकारका धन वाणीले आर्जन गर्न सकिन्छ । यसका अगाडि अरू धन तुच्छ हुन्छन् । आजको विश्वमा धन आर्जन गर्ने उपकरण वाणी हो तसर्थ किफायतसाथ खर्च गर्नुपर्छ । यसमा निरन्तर वृद्धिका लागि लगानी गरिरहनु पर्छ।प्रभावकारी र सार्थक वाणी बनाउन अनधिकृत कुरा बोल्नुहुन्न । आधिकारिकता नभएका कुरा बोल्नु हुन्न । वाणी कला झट्पट प्राप्त हुन्न। निरन्तर स्वाध्ययन, असल सरसंगत, धेरैकुराको अभ्यास, मेहनत, प्रेरणा र प्रभावले यो आर्जन हुन्छ। अभ्यास गर्दा त्रुटि–गल्ती भए सच्याउनुपर्छ। कमी भए आफूभन्दा जान्नेको सहयोग लिनुपर्छ। वाणीको तपको स्वाध्याय हुन्छ । क्लासवर्क हुन्छ । होमवर्क हुन्छ । सानो परीक्षा, ठूलो परीक्षा हुन्छ । त्यसको प्रभाव व्यावहारिकतामा हुन्छ । मानिसले वाणीको पलपल परीक्षा दिइरहनुपर्छ । यो एक किसिमको प्रमाणपत्र हो । धेरै कम बोल्नु जीवन सुखी बनाउने सुत्र पनि हो । सबभन्दा मिठास मानिसको वाणीनै हुन्छ । तसर्थ सोची–सम्झी जिब्रोको प्रयोग गर्नुपर्छ। गीताको १७।१५ मा भनिएको छ ः>
अनुद्वेगकरं वाक्यं सत्यं प्रियं हितं च यत्। >
स्वाध्यायभ्यासनं चैव वाङ्मय तप उच्चते।। >
नेपाली र दक्षिण एसियाली परम्पराले बोलीलाई सधैं नैतिक कसीमा जाँचेको छ । गीतामा वाणीको तप यसरी परिभाषित छः जुन वचनले कसैलाई उद्विग्न नगरोस्, जुन सत्य, प्रिय र हितकर होस् । यहाँ तीन कसी एकैसाथ छन् । सत्य मात्र भएर पुग्दैन, किनकि निर्दयी सत्य घाउ बन्न सक्छ; प्रिय मात्र भएर पनि पुग्दैन, किनकि चाप्लुसी विष बन्न सक्छ; हितकर नभई सुन्दर वचन खोक्रो रहन्छ । बुद्धको सम्यक् वाचाले पनि झुटो, चुक्ली, कठोर र व्यर्थको बोलीलाई चार दोष मानेको छ ।>
वेदान्त परम्परामा वाणीलाई देवीको रूप मानिएको छ । ऋग्वेदको वाक्–सूक्तमा वाणी आफैँ घोषणा गर्छे कि उसले नै देवता र मानवलाई धारण गरेकी छ । भर्तृहरिको वाक्यपदीयले त झन् अगाडि बढेर शब्दलाई ब्रह्मको स्वरूप (‘शब्दब्रह्म’) ठान्छ र भन्छ कि ज्ञानको सम्पूर्ण बोध भाषाबाट अलग रहेर सम्भव छैन । भाषा नभए चिन्तन आकारहीन हुन्छ, चिन्तन नभए भाषा खोक्रो हुन्छ ।>
पश्चिमी चिन्तनमा पनि यही सूत्र फरक भाषामा आएको छ । विट्गेन्स्टाइनले भने, मेरो भाषाको सीमा नै मेरो संसारको सीमा हो । हाइडेगरले भाषालाई ‘अस्तित्वको घर’ भने । यी दृष्टिकोणबाट हेर्दा बोली सोचको पोशाक मात्र होइन, सोचको शरीर हो । हामी जे बोल्न सक्छौँ, त्यही हदसम्म सोच्न सक्छौँ; हाम्रो शब्दभण्डार साँघुरो हुँदा हाम्रो संसार पनि साँघुरिन्छ ।>
यो नैतिक दृष्टि आजको युगमा झन् सान्दर्भिक छ । शब्दले शक्ति बोक्छः शब्दले देश जोड्न सक्छ, जाति भाँड्न सक्छ, युद्ध रोक्न सक्छ, घृणा फैलाउन सक्छ । इतिहासमा जति ठूला अत्याचार भए, ती सबैअघि भाषाले नै बाटो खनेको छः कसैलाई ‘अमानवीय’ नामकरण गरिएको छ, कसैलाई ‘शत्रु’ भनेर चिनाइएको छ । त्यसैले बोल्ने कला भनेको शब्दको जिम्मेवारी बहन गर्ने कला पनि हो ।>
अरस्तुले भाषणकलालाई तीन आधारमा उभ्याएः इथोस (वक्ताको चरित्र र विश्वसनीयता), प्याथोस (श्रोताको भावनासँग जोडिने क्षमता) र लोगोस (तर्कको संरचना) । यी तीनमध्ये एउटा कमजोर भए भाषण लडखडाउँछ । चरित्रविहीन तर्क शंकास्पद हुन्छ, तर्कविहीन भावना भीडको आवेग मात्र बन्छ, भावनाविहीन तर्क चिसो र अप्रभावी रहन्छ ।>
सुकरातले बोलीलाई सत्यको खोजीको औजार बनाए । उनको संवाद–पद्धतिमा प्रश्न सोधेर अज्ञानलाई उजागर गरिन्थ्यो । यसको विपरीत सोफिस्टहरू जित्नका लागि बोल्थे, सत्य खोज्न होइन । यो द्वन्द्व आज पनि जीवित छ । बोल्ने कलाको एउटा प्रयोग बुझाउनु हो, अर्को प्रयोग जित्नु हो । पहिलोले सभ्यता निर्माण गर्छ, दोस्रोले बहसलाई कुस्ती बनाउँछ । नेपाली परम्पराको शास्त्रार्थ पहिलो मार्गको उदाहरण हो, जहाँ पराजय पनि ज्ञानको लाभ मानिन्थ्यो ।>
लोकतन्त्र मूलतः बोलीमा आधारित शासन हो । संसद्को बहस, निर्वाचनको प्रचार, जनताको असहमति, पत्रकारको प्रश्न, सबै बोलीका रूप हुन् । जहाँ बोल्न पाइन्न, त्यहाँ नागरिक प्रजा बन्छन् ; जहाँ बोल्न पाइन्छ तर सुन्ने संस्कृति छैन, त्यहाँ कोलाहल मात्र बाँकी रहन्छ । त्यसैले स्वस्थ लोकतन्त्रका लागि दुई सीप चाहिन्छः निर्भय भएर बोल्ने साहस र धैर्यले सुन्ने विनम्रता ।>
नेपालको सन्दर्भमा यो झन् अर्थपूर्ण छ । यहाँ भाषिक र सांस्कृतिक विविधता असाधारण छ । खस–नेपालीदेखि मैथिली, भोजपुरी, नेवारी, तामाङ, मगर, थारू, लिम्बू र दर्जनौँ मातृभाषासम्म हजारौँ वर्षको सामूहिक स्मृति बोकेका बोलीहरू छन् । प्रत्येक बोली एउटा विश्वदृष्टि होः त्यसले प्रकृतिलाई कसरी नामकरण गर्छ, सम्बन्धलाई कसरी वर्गीकरण गर्छ, पीडा र आनन्दलाई कसरी व्यक्त गर्छ । कुनै भाषा लोप हुँदा एउटा शब्दकोश मात्र हराउँदैन, मानवताले संसारलाई हेर्ने एउटा अनूठो झ्याल बन्द हुन्छ । त्यसैले मातृभाषामा बोल्न पाउने अधिकार सांस्कृतिक सम्मानको प्रश्न मात्र नभई न्याय र समावेशिताको प्रश्न पनि हो ।>
बोल्ने कलाले बाहिरी संसारलाई मात्र होइन, भित्री संसारलाई पनि आकार दिन्छ । आफ्ना भावना शब्दमा उतार्न सक्ने मानिस आफ्नै पीडा बुझ्न र सम्हाल्न सक्षम हुन्छ । जसले आफ्नो रिस, डर वा प्रेमलाई नाम दिन सक्दैन, ऊ त्यसको दास हुन्छ । आधुनिक मनोविज्ञानले भावनाको नामकरणले तीव्रता घटाउँछ भन्ने कुरा बारम्बार देखाएको छ । परामर्श र मनोचिकित्साको मूल औजार नै बोलीले गरिने संवाद हो, जहाँ बोल्नु स्वयं उपचार बन्छ ।>
त्यसैगरी, बोलीले सम्बन्धलाई जोगाउँछ वा भत्काउँछ । धेरै परिवार र मित्रता ठूला विश्वासघातले होइन, नबोलिएका कुरा र गलत बोलिएका शब्दहरूले टुट्छन् । मौनता पनि बोलीकै अङ्ग हो, तर आदरपूर्ण मौनता र उपेक्षाको मौनतामा आकाश–पातालको भेद हुन्छ । बोल्ने कलाले कहिले बोल्ने, कहिले चुप लाग्ने र कसरी बोल्ने भन्ने विवेक पनि सिकाउँछ ।>
आजको युगले बोलीको स्वरूप नै बदलिदिएको छ । सामाजिक सञ्जालले हरेक व्यक्तिलाई प्रकाशक बनाएको छ, जुन लोकतान्त्रिक उपलब्धि हो । तर यही सुविधाले केही गम्भीर विकृति पनि जन्माएको छ ।>
पहिलो, गति र गहिराइको द्वन्द्व । तत्काल प्रतिक्रिया दिने दबाबले विचार पाक्न नपाउँदै बोलिसकिन्छ । सय अक्षरको टिप्पणीमा जटिल यथार्थ अटाउँदैन, त्यसैले सूक्ष्मता हराउँछ र नारा बाँकी रहन्छ ।>
दोस्रो, ध्रुवीकरणको भाषा । एल्गोरिदमले उत्तेजक र आक्रामक सामग्रीलाई बढी फैलाउँछ, जसले असहमतिलाई शत्रुतामा बदल्छ । ’हामी’ र ’उनीहरू’ को विभाजन भाषाबाटै गहिरिन्छ ।>
तेस्रो, सत्यको क्षरण । भ्रामक सूचना, गढिएका भिडियो र कृत्रिम बुद्धिमत्ताले बनाएका आवाज र पाठले ’कसले के भन्यो’ भन्ने कुराको विश्वसनीयता नै खलबल्याइदिएका छन् । जहाँ सुनेको कुरामा भरोसा गर्न गाह्रो हुन्छ, त्यहाँ सार्वजनिक संवादको जग हल्लिन्छ ।>
चौथो, सुन्ने क्षमताको ह्रास । सबै बोल्न आतुर हुने तर थोरै मात्र सुन्न तयार हुने समयमा ’प्रतिध्वनि कक्ष’ (भअजय अजबmदभच) हरू बन्छन्, जहाँ मानिसले आफ्नै स्वर मात्र सुनिरहन्छन् ।>
यस सङ्कटको समाधान प्रविधि त्यागेर होइन, बोल्ने कलाको पुनर्जागरणबाट सम्भव छ । डिजिटल साक्षरताको अर्थ अब केवल प्रविधि चलाउन जान्नु होइन, कुनै कुरा बोल्नु वा प्रसार गर्नुअघि सोध्न जान्नु होः के यो सत्य हो? के यो आवश्यक छ? के यसले कसैलाई अनावश्यक चोट पु¥याउँछ?>
बोल्ने कला जन्मजात प्रतिभा मात्र होइन, अभ्यासले निखारिने सीप हो । डेमोस्थेनिजले मुखमा गिट्टी राखेर समुद्रको गर्जनसँग प्रतिस्पर्धा गर्दै हकलाहट जितेको कथा यसको प्रतीक बनेको छ । विद्यालय र विश्वविद्यालयले लेख्ने सीपलाई जति महत्त्व दिन्छन्, बोल्ने सीपलाई त्यति दिँदैनन्; परीक्षा प्रणालीले मौन उत्तर–पुस्तिकालाई पुरस्कृत गर्छ । यसले ज्ञान हुँदाहुँदै पनि आफ्नो विचार प्रस्तुत गर्न नसक्ने पुस्ता बनाउने जोखिम बोक्छ । वादविवाद, कथावाचन, सार्वजनिक भाषण र सक्रिय श्रवणको अभ्यास पाठ्यक्रमको अभिन्न अङ्ग बन्नुपर्छ ।>
व्यावसायिक जीवनमा पनि नेतृत्व, वार्ता, शिक्षण, चिकित्सा, पत्रकारिता र न्याय, लगभग सबै पेसाको सफलता प्रभावकारी सञ्चारसँग गाँसिएको छ । तर यहाँ पनि सावधानी चाहिन्छः बोल्ने कला छलको कला बन्नु हुँदैन । प्रभावशाली भाषणले असत्यलाई सुन्दर बनाउन सक्छ, र यसै कारण वक्ताको नैतिक आधार सबैभन्दा निर्णायक हुन्छ ।>
बोली केवल उपयोगी वा नैतिक मात्र होइन, सुन्दर पनि हुन्छ । लोकगीत, दोहोरी, भजन, कथा, उखान–टुक्का, सबैमा बोलीको कलात्मक सम्भावना भेटिन्छ । नेपाली समाजमा ’बोली एक्लै ठूलो होइन, बोल्नेले ठूलो बनाउँछ’ जस्ता उखानले बोलीको सामाजिक मूल्य समेटेका छन् । मौखिक परम्पराले लेखनअघि नै ज्ञान, इतिहास र मूल्यहरूलाई पुस्तान्तरण गरेको थियो, जुन आज पनि हाम्रो सांस्कृतिक स्मृतिको जग हो । भानुभक्तले जनबोलीमा रामायण उतारेर भाषालाई अभिजात वर्गको घेराबाट जनताको आँगनसम्म ल्याए, जसले देखाउँछ कि भाषाको लोकतान्त्रीकरण पनि एउटा ठूलो सांस्कृतिक क्रान्ति हुन सक्छ ।>
यस लेखको अन्त्यमा फेरि एक श्लोक बोली(वाणी) कै विषयमा ः वाणीमा मनको भाव उत्री बाहिर आउँछ। जस्तो बिम्ब भयो उस्तै प्रतिबिम्ब उदाउँछ ।।>
जीवनको माधुर्यले मानिसको व्यक्तित्व मुखरित गरिरहेको हुन्छ । वाणीको दरिद्रताले मानिसको मन प्रज्ञालाई प्रदूषित गरिरहेको हुन्छ, त्यसैले वाणी मनको हृदयको उद्गार, वाणी नै मधुरता, वाणी नै दर्पण मनको प्रकृतिको उपहार हो । सदैव मिठो बोली बोलीरहौँ, जीवनमा मिठास घोलिरहौँ ।>
अन्ततः बोल्ने कलाको सार तीन तत्त्वको सन्तुलनमा बस्छः सत्य, सौन्दर्य र शुभ । सत्य नभए बोली छल हुन्छ, सौन्दर्य नभए बोली थकाउने हुन्छ, शुभ नभए बोली हानिकारक हुन्छ । र यी तीनको आधारमा एउटा चौथो शर्त छः सुन्ने विनम्रता । साँचो वक्ता त्यही हो जो आफ्नो बोलीको सीमा चिन्छ र अर्काको बोली सुन्न तयार रहन्छ ।>
सूचनाले छचल्किएको तर अर्थले रित्तिँदै गएको यस युगमा हामीले फेरि सोध्नुपर्ने प्रश्न यही होः हामी किन बोल्छौँ, कसका लागि बोल्छौँ र कस्तो बोल्छौँ? यदि बोली केवल आवाजको भीड बन्यो भने सभ्यता कोलाहलमा डुब्नेछ; यदि बोली विवेक, करुणा र साहसले सञ्चालित भयो भने यही बोली मानवताको सबैभन्दा सुन्दर पुल बन्नेछ ।त्यसैले बोली प्रकृतिको उपहार हो, तर बोल्ने कला मानवको सबैभन्दा गहन साधना । जसले शब्दलाई सम्मान गर्छ, ऊ आफ्नै मनुष्यतालाई सम्मान गर्छ ।>
लेखक: राम ज्ञवाली>
रिब्दीकोट–४, नारायणथोक, पाल्पा।>
लेखक श्री राम मावि राम्दी,पाल्पामा अध्यापनरत हुनुहुन्छ।>>