पाल्पा । रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा रहेको ठिमुरे कल्याण कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ साधारण सभा सम्पन्न भएको छ।>
संस्थाका अध्यक्ष इन्द्रजङ्ग रायमाझीको अध्यक्षता तथा रिब्दीकोट गाउँपालिका–६ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्थापक सदस्य दिवाकर ढकालको विशिष्ट आतिथ्यता रहेको थियो।>
कार्यक्रममा वडा सदस्यहरू भरत जिसी र मनु गैरे, युवा तथा खेलकुद संयोजक दीपक पचभैया (झपेन्द्र), संस्थापक सदस्य कमलराज शर्मा लगायतको आतिथ्यता रहेको थियो।>
कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका प्रवक्ता प्रकाश रायमाझीले कृषि उत्पादनमा जोड दिँदै स्थानीय बचतकर्तालाई सहकारीमा नियमित बचत गर्ने बानीको विकास गर्न सुझाव दिनुभयो। उहाँले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो।>
त्यस्तै, संस्थापक सदस्य दिवाकर ढकालले ११ जना स्थानीयवासीले सानो बचतबाट सुरु गरेको अभियान सहकारी संस्थाको स्थापनासम्म आइपुग्नु गौरवपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले आगामी दिनमा ‘एक परिवार, एक बचत’ को अवधारणालाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो।>
स्थानीय युवा तथा समाजसेवी दीपक पचभैयाले कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग घटाउँदै जैविक विषादीको प्रयोगबारे किसानलाई सचेत गराउनुपर्ने बताउनुभयो। उहाँले सहकारीले अर्गानिक कृषितर्फ लगानी बढाउनुपर्नेमा जोड दिनुभयो।>
अर्का युवा तथा समाजसेवी पूर्णबहादुर पचभैयाले सहकारीका कारण स्थानीयवासीले साहुको घरघरमा ऋणका लागि धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो।>
संस्थाका अध्यक्ष इन्द्रजङ्ग रायमाझीले किसान केन्द्रित आयमूलक क्षेत्रमा सहकारीले आर्थिक लगानी गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार गाउँमै केही गर्छु भन्ने युवा तथा कृषिजन्य सामग्री उत्पादन गर्न चाहने तर आर्थिक स्रोतको अभाव भएका व्यक्तिलाई संस्थाको नीति तथा नियमअनुसार ऋण उपलब्ध गराइएको छ। उहाँले सहकारीले स्थानीयस्तरको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।>
साधारण सभाका अवसरमा संस्थामा आबद्ध ज्येष्ठ नागरिक रमेश ढकाल र यदुकुमारी रानालाई सम्मान गरिएको थियो। त्यसैगरी उत्कृष्ट कृषकहरू नरबहादुर बुचा, कमला राना, विमला सार्की र तिलकुमारी बगालेलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।>
गत वर्षको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरू देवेन्द्र सूर्यवंशी र साहिल ठडराईलाई समेत नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।>
कार्यक्रममा संस्थाका सचिव लक्ष्मण ठडराईले आर्थिक वर्षको १ करोड ३ लाख ९२ हजार २ सय ५० रुपैयाँ ८२ पैसा बराबरको आर्थिक कारोबारसहितको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।>
स्थानीय बचतकर्ता तथा सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा संस्थाका व्यवस्थापक सुरेश ठडराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन किरण रायमाझीले गर्नुभएको थियो।>>