काठमाडौं, कात्तिक २२। तिहारको दोस्रो दिन आज आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै छ। तिथिको घटबढका कारण दिउँसो चतुर्दशी र साँझ औँसी तिथि पर्ने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शास्त्रसम्मत रूपमा दुवै पर्व एकै दिन मनाउने निर्णय गरेको हो।>
आज बिहान यमराजको दूतका रूपमा कुकुरको पूजा गरिँदै छ भने साँझ धनधान्यकी देवी महालक्ष्मीको आराधना गरी घरघरमा दीपावली गरिने छ।>
धार्मिक मान्यताअनुसार कुकुरलाई केवल पशुका रूपमा नभई यमराजको दूत र भगवान् भैरवको वाहनका रूपमा समेत पूजा गर्ने परम्परा छ। पौराणिक कथाअनुसार यमलोकको ढोकामा चार आँखा भएका ‘श्यामा’ र ‘सबल’ नामका दुई कुकुरले पहरा दिने विश्वास गरिन्छ। उनीहरूले मानिसको मृत्युको समय नजिकिँदा यमराजलाई खबर गर्ने धार्मिक मान्यता छ।>
कुकुरलाई प्रसन्न राख्दा यमलोकको यात्रामा दुःख भोग्न नपर्ने र मृत्युको भयबाट मुक्ति मिल्ने विश्वासका साथ कुकुर तिहार मनाउने गरिन्छ।>
महाभारतको कथाअनुसार पाँच पाण्डव र द्रौपदी स्वर्गारोहणका लागि हिमालयतर्फ प्रस्थान गर्दा बाटोमा एकपछि अर्को गर्दै सबै ढल्छन्। अन्तिममा धर्मराज युधिष्ठिर र उनीसँगै हिँडेको एउटा कुकुर मात्र जीवित रहन्छन्। स्वर्गको ढोकामा पुगेपछि देवराज इन्द्रले युधिष्ठिरलाई मात्र स्वर्ग प्रवेश गर्न अनुमति दिँदै कुकुरलाई छाड्न आग्रह गर्छन्। तर युधिष्ठिरले कठिन यात्रामा साथ दिएको कुकुरलाई त्यागेर आफू मात्र स्वर्ग नजाने अडान लिन्छन्। उनको धर्म र वफादारिता देखेर कुकुर वास्तविक स्वरूपमा प्रकट हुन्छन्, जो स्वयं धर्मराज अर्थात् यमराज रहेको कथामा उल्लेख छ।>
तिहारको अर्को महत्वपूर्ण पर्व लक्ष्मीपूजा पनि आजै मनाइँदै छ। कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ समेत भनिन्छ। पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा कात्तिक कृष्ण औँसीकै दिन देवी महालक्ष्मी प्रकट हुनुभएको थियो। उहाँको स्वागतमा देवताहरूले दीप प्रज्वलन गरी पूजाआजा गरेको विश्वासका आधारमा यस दिन लक्ष्मीपूजा र दीपावली गर्ने परम्परा रहिआएको छ।>
त्यस्तै, भगवान् विष्णुले वामन अवतार लिएर दानवीर राजा बलिलाई तीन पाइला भूमि माग्दै पाताल लोक पठाउनुभएको पौराणिक कथा पनि लक्ष्मीपूजासँग जोडिएको छ। राजा बलिको दानशीलताबाट प्रसन्न भएर विष्णुले उनलाई पातालको राज्य सुम्पिनुभएको र लक्ष्मीले बलि राजालाई भाइ बनाई रक्षा सूत्र बाँधेर आफ्ना पति विष्णुलाई मुक्त गराउनुभएको धार्मिक कथन छ। राजा बलिको राज्य सधैँ धनधान्यले भरिपूर्ण रहने वरदान प्राप्त भएको खुसीयालीमा समेत दीपावली गर्ने प्रचलन रहेको मानिन्छ।>
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २३ गते गाईतिहार, कात्तिक २४ गते गोरुतिहार, गोवर्धन पूजा तथा म्हपूजा मनाइने छ। सोही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ।>
तिहारको अन्तिम दिन कात्तिक २५ गते भाइटीका परेको छ। समितिका अनुसार यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा उत्तम रहेको छ।>
यसरी धार्मिक, सांस्कृतिक तथा पारिवारिक महत्व बोकेको तिहारले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र आत्मीयताको सन्देश प्रवाह गर्दै आएको छ।>>