माधव पाण्डे, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पास्थित मैदानमा जल्पाली लोक सांस्कृतिक समूहको आयोजनामा देउसी–भैलो विशेष कार्यक्रम हुने भएको छ। समूहले आफ्नो संकल्पअनुसार आयोजना गर्न लागेको उक्त कार्यक्रमको मुख्य उद्देश्य नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।>
कार्यक्रमका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार रविर बराल मगर रहेका छन्। कार्यक्रममार्फत पाल्पाको पहिचानका रूपमा रहेको मौलिक करुवाको संरक्षण र प्रवर्द्धन गर्दै ‘पाल्पाली करुवा घर’ निर्माण अभियानमा समेत हातेमालो गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।>
पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यमको प्रभाव बढ्दै जाँदा मौलिक देउसी–भैलो, मादल, खैँजडी तथा परम्परागत सांस्कृतिक प्रस्तुतिहरू ओझेलमा पर्दै गएका छन्। यस्तो अवस्थामा आयोजना हुने कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।>
आयोजकले स्थानीय कला, संस्कृति र परम्पराप्रति चासो राख्ने सम्पूर्ण महानुभावलाई कार्यक्रममा सहभागी भई साथ, सहयोग र हौसला प्रदान गर्न आग्रह गरेको छ।>
‘मौलिक कला संस्कृतिको संरक्षण गरौँ, आफ्नो पहिचान आफैँ जोगाऔँ।’>>