वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा घाइते भएका आठ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।>
सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा पटाकाको छर्रा छातीमा लागेपछि कुन्दन गम्भीर घाइते भई बेहोस भएका थिए। उनलाई आफन्तले उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याएको केही समयपछि बिहान ८ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।>
प्रहरीका अनुसार पटाकाको छर्रा छातीको बीच भागमा लाग्नुका साथै छातीसमेत जलेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो।>>