काठमाडौँ, कात्तिक १५ । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।>
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्धनका लागि कार्यदल गठन गरी आवश्यक काम अघि बढाउने निर्णय गरेको हो।>
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिव, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता थियो।>
बैठकमा गुणस्तरीय र सुलभ उपचार सेवा लिन नेपाल आउने विदेशी बिरामीका लागि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको छ। यसका लागि नियमनकारी संरचना निर्माण, अस्पतालको गुणस्तर र बिरामी सुरक्षाका मापदण्ड निर्धारण तथा विदेशी बिरामी र उनीहरूका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयलाई प्राथमिकता दिइएको छ।>
चिकित्सा सेवा पर्यटनको विकासले विदेशी मुद्रा आर्जन बढाउनुका साथै नेपाली नागरिक उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन र देशभित्रै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।>
नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आवश्यक नीतिगत तथा संस्थागत सुधार अघि बढाउने तयारी गरेको छ।>>