मकवानपुर, कात्तिक २६ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।>
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय गाडी बिहीबार बिहान सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।>
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा परी तीन महिला, पाँच पुरुष र दुई बालिकाको मृत्यु भएको छ । त्यस्तै, घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन् ।>
म.प्र.०३–००१ ज ०८८० नम्बरको उक्त यात्रुवाहक विद्युतीय गाडीमा चालकसहित १५ जना सवार थिए ।>
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो ।>
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस भीमफेदीबाट सहायक प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको नेतृत्वमा १० जना तथा नेपाली सेनाको ११ जनाको टोली उद्धारमा खटिएको थियो ।>
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा १० जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश यादवको नेतृत्वमा थप १० जनाको टोलीसमेत घटनास्थल पुगेको थियो ।>
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।>
दुर्घटना हुनुको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।>>