भैरहवा । रुपन्देहीको तिलोत्तमाबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको मोबाइलका विभिन्न सामग्रीसहित बोलेरो गाडी सशस्त्र प्रहरीले बरामद गरेको छ।>
मंगलबार बिहान करिब १० बजे तिलोत्तमा नगरपालिका–१३ स्थित पत्थरडाँडा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देहीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो।>
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी पाँच लाख रुपैयाँ बराबरको मोबाइल कभर र एक लाख १० हजार रुपैयाँ बराबरको मोबाइल टेम्पर ग्लास बरामद गरेको जनाएको छ।>
त्यस्तै, सामान ढुवानीमा प्रयोग गरिएको लु ३ च १३९८ नम्बरको बोलेरो गाडीसहित बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईले बताए। उक्त गाडीको अनुमानित मूल्य १५ लाख रुपैयाँ रहेको उनले जानकारी दिए।>
बरामद मोबाइल कभर, टेम्पर ग्लास र बोलेरो गाडीसहित कुल २१ लाख १० हजार रुपैयाँ बराबरको सामान रहेको बताइएको छ।>
बरामद सामान तथा गाडी आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। फरार गाडी चालकको खोजी भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईले बताए।>>