रामपुर, पाल्पा । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज ७ गते सम्पन्न नगर अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन बुधबार गरिएको हो।
नगर सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षता तथा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति एवं नवनिर्वाचित केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।>
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपाली कांग्रेसले युवा पुस्ता, महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यक तथा विभिन्न पेसागत क्षेत्रलाई समेट्दै अघि बढिरहेको बताउनुभयो। उहाँले पार्टीलाई जनताको भरोसाको संगठनका रूपमा स्थापित गर्न आन्तरिक एकता, सहकार्य र आपसी सद्भाव आवश्यक रहेको उल्लेख गर्नुभयो।>
उहाँले नयाँ नेतृत्वले पदलाई अवसरभन्दा सेवाको माध्यमका रूपमा लिनुपर्ने बताउँदै जनताका समस्या र अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न आग्रह गर्नुभयो। पार्टीलाई समयानुकूल परिवर्तन गर्दै जनताको सुखदुःखमा साथ दिने संगठनका रूपमा विकास गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।>
नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सन्दीप रानाले ज्येष्ठ नागरिकको अनुभव र युवा पुस्ताको जोसलाई जोड्दै मौलिकता संरक्षणसँगै प्रविधिलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले नागरिक र देशलाई निकास दिनुका साथै दिगो विकास र समृद्धिको यात्रालाई गति दिन कांग्रेस जिम्मेवार भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो।>
“जनताको विश्वास जित्ने मुख्य आधार हाम्रो व्यवहार, काम र जनताप्रतिको उत्तरदायित्व हो। त्यसैले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जनतासँग जोडिएर काम गर्नुपर्छ,” रानाले भन्नुभयो। उहाँले बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षाअनुसार पार्टीलाई नयाँ सोच, विचार र कार्यशैलीका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।>
नेपाली कांग्रेसकी लुम्बिनी प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि विष्णुमाया ढकालले विशेष अधिवेशनमार्फत नयाँ विधानसहित पार्टी जनतामाझ आएको बताउनुभयो। उहाँले जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थितिअनुसार सबैलाई समेटेर कांग्रेसलाई थप बलियो र जनमुखी बनाउनुपर्ने धारणा राख्नुभयो।>
नेपाली कांग्रेस पाल्पाका जिल्ला उपसभापति ज्ञानबहादुर गाहाले अवसर र चुनौती दुवै रहेको अवस्थामा ऊर्जाशील तथा सशक्त नगर कार्यसमितिले संगठनलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।>
कार्यक्रममा सम्मानित व्यक्तित्व देवराज ढकालले स्थानीय विकास मन्त्रीका रूपमा प्रकाशमान सिंहको पहलमा बजेट विनियोजन भई निर्माण भएको भवनलगायत विकासका काममा कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। महाधिवेशन प्रतिनिधि हजुलदिन मियाले पार्टीलाई विजयी बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।>
नगरका नवनिर्वाचित सभापति रामप्रसाद ढकाल ‘रमेश’ले अग्रजहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै नयाँ पुस्ताको जोस, जाँगर र क्षमतालाई संगठनमा जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।>
“हामी अग्रजहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै नयाँ पुस्ताको जोस, जाँगर र क्षमतालाई संगठनमा जोडेर अघि बढ्नेछौँ। सबैलाई समेटेर कांग्रेसलाई जनताको अपेक्षाअनुसार काम गर्ने पार्टीका रूपमा स्थापित गर्नु हाम्रो मुख्य उद्देश्य हुनेछ,” ढकालले भन्नुभयो।>
उहाँले सहकार्य र समन्वयका आधारमा पार्टीलाई थप परिष्कृत, व्यवस्थित र जनमुखी बनाउँदै संगठनलाई गतिशील बनाउने बताउनुभयो। नवनिर्वाचित सभापति ढकाललाई निवर्तमान सभापति नेत्रप्रसाद भट्टराईले पदस्थापन गराउनुभएको थियो।>
कार्यक्रममा नगर कार्यसमितिले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाईसहित सम्मान गरेको थियो। साथै, गणेशमान स्मृति भवन र बीपी स्मृति भवन निर्माण, बीपी स्मृति अक्षयकोष स्थापना तथा विभिन्न तहमा रहेर पार्टीलाई सहयोग पुर्याउने दर्जनौँ व्यक्तित्वलाई सम्मान गरिएको थियो। आन्तरिक लेखा समिति, निर्वाचन समिति र निवर्तमान कार्यसमितिलाई धन्यवादसहित प्रशंसापत्र प्रदान गरिएको थियो।>
गणेशमान स्मृति प्रतिष्ठान भवन, बेझाँडमा आयोजित कार्यक्रम नगर उपसभापति क्याप्टेन देवबहादुर थापा मश्राङ्गीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश बस्यालले गर्नुभएको थियो भने सचिव चिरञ्जीवी सिग्देलले धन्यवाद ज्ञापन गर्नुभएको थियो।>>