पोखरा, मङ्सिर १ गते । आज राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस अवसरमा पोखरामा पनि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।>
आन्तरिक राजस्व कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी निकालिएको हो । पोखराको सभागृहबाट सुरु भएको प्रभातफेरी सिर्जना चोक, रत्नचोक हुँदै आन्तरिक राजस्व कार्यालय पोखरामा पुगेर समापन भएको थियो।>
यस वर्षको कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिकको सहभागिता’ रहेको छ। प्रभातफेरीमा उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी, सरकारी कर्मचारीलगायतको सहभागिता थियो। सहभागीहरूले करसम्बन्धी विभिन्न जानकारीमूलक प्लेकार्ड बोकेका थिए।>
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गानाका अनुसार कर दिवसको अवसरमा एक सातासम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। मङ्सिर २ देखि ६ गतेसम्म विभिन्न वस्तुगत सङ्घसंस्थासँग अन्तरक्रिया, मङ्सिर ५ र ६ गते मैत्रीपूर्ण फुटसल तथा मङ्सिर ७ गते करदाता सम्मान कार्यक्रम आयोजना गरी कर सप्ताह समापन गरिने उहाँले जानकारी दिनुभयो।>
पोखरास्थित आन्तरिक राजस्व कार्यालयमा आयोजना हुने करदाता सम्मान कार्यक्रममा तीन जना करदातालाई सम्मान गरिनेछ।>
नेपालमा आधुनिक कर प्रणालीका रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको सम्झनामा राष्ट्रिय कर दिवस मनाउन थालिएको हो। २०५४ साल मङ्सिर १ गते नेपालमा भ्याट लागू भएको थियो।>>