तानसेन, पाल्पा । तानसेन नगरपालिका क्षेत्रभित्रका ३ हजार ३२४ विद्युत् उपभोक्ताले न्यूनतम विद्युत् महसुलमा छुट पाउने भएका छन्। यसका लागि तानसेन नगरपालिका र नेपाल विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रबीच सम्झौता भएको छ।>
न्यूनतम विद्युत् महसुल छुटसम्बन्धी कार्यविधि, २०७९ अनुसार नगरपालिकाले सिफारिस गरेका उपभोक्ताका लागि एकमुष्ट ८ लाख ३६ हजार ६ सय ४० रुपैयाँ प्राधिकरणको खातामा अग्रिम उपलब्ध गराउने सम्झौता भएको हो।>
सम्झौताअनुसार ५ एम्पियर स्वीकृत क्षमता भएका र मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले मात्र उक्त सुविधा पाउनेछन्। २० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई यो छुट लागू हुने छैन।>
प्राधिकरणले नगरपालिकाबाट प्राप्त नामावलीका आधारमा सम्बन्धित उपभोक्ताको विद्युत् महसुल कट्टा गर्ने र त्यसको विवरण नगरपालिकालाई उपलब्ध गराउनेछ। उपभोक्ताको खातामा रकम बाँकी रहेमा चालु आर्थिक वर्षभित्र नगरपालिकाको खातामा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।>
त्यस्तै, अनुदान प्राप्त गर्ने उपभोक्ताले मिटर रिडिङअनुसार जरिवाना नलाग्ने गरी समयमै विद्युत् महसुल भुक्तानी गर्नुपर्नेछ। जरिवानासहित भुक्तानी गरिएको रकममा नगरपालिकाले अनुदान उपलब्ध गराउने छैन।>
अनुदान पाउने उपभोक्ताको नामावली तयार गर्ने, आवश्यक कागजात उपलब्ध गराउने तथा नामावलीमा आवश्यक हेरफेर गर्ने जिम्मेवारी नगरपालिकाको हुनेछ। सम्झौताअनुसार कार्यक्रम कार्यान्वयनको जिम्मेवारी नगरपालिका र प्राधिकरणको पाल्पा वितरण केन्द्र दुवै पक्षले लिनेछन्।>>