समाचार स्थानीय समाचार १० कार्तिक २०८३, मङ्गलबार

पूर्वखोला–३ रिङ्नेरहस्थित ग्लोबल आइएमई बैंकमा बस्ने ठाउँको अभाव, सेवाग्राहीलाई सास्ती

Rastriyanews

माधव पाण्डे | पाल्पा

पाल्पाको पूर्वखोला गाउँपालिका–३, रिङ्नेरहस्थित ग्लोबल आइएमई बैंकको शाखामा सेवाग्राहीको चाप बढ्दा बस्ने पर्याप्त ठाउँ नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

विशेषगरी वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिन, रकम जम्मा गर्न तथा झिक्न बैंक पुग्ने ज्येष्ठ नागरिक, अशक्त र असहाय व्यक्तिहरू बढी प्रभावित भएका छन्। बैंकमा सेवाग्राहीको भिड लाग्दा सीमित व्यक्तिका लागि मात्र बस्ने व्यवस्था रहेको र अन्य सेवाग्राही लामो समयसम्म उभिएर पालो कुर्नुपर्ने अवस्था रहेको गुनासो छ।

बैंकमा सेवा लिन आउने ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई लामो समयसम्म उभिएर बस्न कठिन हुने भएकाले उनीहरूको सहजतालाई ध्यानमा राखी पर्याप्त कुर्सी तथा आराम गर्ने ठाउँको व्यवस्था गर्नुपर्ने स्थानीय सेवाग्राहीको माग छ।

सेवाग्राहीले बैंकबाट सहज, व्यवस्थित र सेवाग्राहीमैत्री सेवा पाउनुपर्ने भन्दै सम्बन्धित बैंक व्यवस्थापनले यस समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

ज्येष्ठ नागरिक, अशक्त तथा अन्य सेवाग्राहीको सुविधालाई प्राथमिकता दिँदै बस्ने पर्याप्त व्यवस्था मिलाउन र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन बैंक व्यवस्थापनको ध्यान जान आवश्यक देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार