काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्न विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।>
नेपाल प्रहरी प्रधान कार्यालयबाट शनिबार भर्चुअल माध्यममार्फत सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा निर्देशन दिँदै उनले चाडपर्वका बेला हुन सक्ने लुटपाट, चोरीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन आवश्यक रहेको बताए।>
उनले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकका समस्या समाधानमा सक्रिय हुन निर्देशन दिए। आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरी स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरेर उत्तरदायी प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।>
चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवालासँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि आईजीपी कार्कीले निर्देशन दिए। सामाजिक सद्भावमा खलल पुग्ने घटनाप्रति सचेत रहन तथा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणलाई प्राथमिकता दिन उनले आग्रह गरे।>
त्यस्तै, फरार प्रतिवादी पक्राउ गर्न सूचना सङ्कलन तथा विश्लेषणलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।>
प्रहरी कर्मचारीले व्यावसायिक मर्यादा र अनुशासन पूर्ण रूपमा पालना गर्दै सामाजिक सञ्जाल प्रयोग गर्दा संवेदनशील हुनुपर्ने उनले बताए। व्यक्तिगत स्वार्थभन्दा संगठनको लक्ष्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले गैरव्यावसायिक कार्यमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत दिए।>
प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई निरन्तर अनुगमन, सुपरिवेक्षण र निरीक्षण गरी देखिएका त्रुटि समयमै सुधार गर्न पनि उनले निर्देशन दिए।>
भर्चुअल कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलगायतको उपस्थिति थियो। कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तालिम केन्द्र, विशेष सुरक्षा गण, जिल्ला प्रहरी परिसर तथा मातहतका मुद्दा चल्ने एकाइका प्रमुख र प्रतिनिधिहरू सहभागी थिए।>>