पाल्पा, रामपुर । रामपुर नगरपालिकाभित्रका तीन जना विपन्न एकल आमालाई भूकम्पप्रतिरोधी दुईकोठे घर तथा शौचालय हस्तान्तरण गरिएको छ।
टुकी फाउण्डेशनले अमेरिकी संस्था निवासको सहयोग तथा रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा निर्माण गरेका घर मंगलबार सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको हो।>
१६ वर्षभन्दा कम उमेरका छोराछोरी भएका एकल आमाहरूलाई लक्षित गरी रामपुर नगरपालिका–२, ४ र ६ मा घर निर्माण गरिएको हो। वडा नं. २ खयरबोटकी बन्दना विश्वकर्मा, वडा नं. ४ छतिवन डाँडाकी विष्णुमाया राना र वडा नं. ६ माझटोलकी गनमाया घर्तीलाई जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा घरको ताला र साँचो हस्तान्तरण गरिएको हो।>
घर हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले श्रीमान् गुमाएका तथा सहाराविहीन महिलालाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले फाउण्डेशनसँगको सहकार्यमा घर निर्माण गरिएको बताउनुभयो। उहाँले नगरपालिकाले विपन्न तथा सहाराविहीन नागरिकका लागि आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो।>
नगर प्रमुख थापाले आवाससँगै परिवारको जीविकोपार्जनका लागि पनि सहयोग आवश्यक रहेको बताउँदै स्वरोजगारका कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार आवश्यकताको पहिचान गरी तीन वटा घर निर्माण गरिएको हो भने यस वर्ष पनि थप घर निर्माणको प्रक्रिया अघि बढाइएको छ।>
नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले श्रीमान् गुमाएका महिलाले आर्थिक अभावसँगै सुरक्षित आवासको समस्या भोग्दै आएको अवस्थामा घर निर्माणले महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो। उहाँले बालबालिकाको शिक्षासँगै परिवारको आयआर्जनका लागि समेत नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।>
टुकी फाउण्डेशनकी कार्यकारी निर्देशक शिला सेनका अनुसार एउटा घर निर्माणमा रामपुर नगरपालिकाले २ लाख ५० हजार रुपैयाँ र बाँकी रकम फाउण्डेशनले व्यहोरेको छ। तीनवटै घर निर्माणमा कुल ८ लाख १४ हजार ६८० रुपैयाँ १२ पैसा खर्च भएको उहाँले जानकारी दिनुभयो। आवास निर्माणमा ६० प्रतिशत फाउण्डेशन र ४० प्रतिशत पालिकाको साझेदारी रहने गरेको उहाँले बताउनुभयो।>
फाउण्डेशनले गास, बास र कपासको समस्या भएका एकल आमा तथा पिछडिएका समुदायको आवश्यकता पहिचान गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। हालसम्म विभिन्न जिल्लामा ५० भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गरिसकेको फाउण्डेशनले जनाएको छ।>
घर हस्तान्तरणपछि एकल आमाहरूको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उनीहरूले सञ्चालन गर्न चाहेको व्यवसायका लागि प्रति परिवार ३० हजार रुपैयाँ सहयोग गर्ने फाउण्डेशनले जनाएको छ।>
कार्यक्रम सम्बन्धित परिवारकै घरमा पुगेर गरिएको थियो। रामपुर नगरपालिका–६ का वडाध्यक्ष दिवाकर देवकोटा, वडा नं. ४ का वडाध्यक्ष रामबहादुर राना र वडा नं. २ का वडाध्यक्ष कृष्णबहादुर दर्जीले सम्बन्धित परिवारको अवस्थाबारे जानकारी गराउँदै सहयोगका लागि फाउण्डेशन तथा नगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो।>
नयाँ घरको साँचो पाएपछि एकल आमाहरूले खुशी व्यक्त गर्दै फाउण्डेशन र रामपुर नगरपालिकालाई धन्यवाद दिएका छन्। भूकम्पका कारण चर्किएको पुरानो घरमा बस्दै आएकी रामपुर–४ की विष्णुमाया रानाले सुरक्षित घर पाउँदा आफूलाई ठूलो राहत मिलेको बताउनुभयो। वडा नं. ६ की गनमाया घर्तीले चिटिक्क परेको नयाँ घर पाउँदा खुशीको सीमा नरहेको बताउनुभयो भने वडा नं. २ की बन्दना विश्वकर्माले पनि नयाँ घर पाएपछि खुशी व्यक्त गर्नुभयो।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन