रचना रचना-समाचार १९ असोज २०८३, सोमबार

कवि प्रज्वल अधिकारीको ‘अस्तित्वको ब्रह्माण्ड’ लोकार्पण

Rastriyanews

काठमाडौँ, असोज १९ गते । कवि प्रज्वल अधिकारीको कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा गीतकार एवं कवि दिनेश अधिकारी, गीतकार श्रवण मुकारुङ तथा साहित्यकार प्रतिसरा सायमि लगायतले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभयो । कार्यक्रममा कवि मुकारुङले साहित्य सिर्जनामा चिन्तनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले जीवनका अप्ठ्यारा तथा सङ्घर्षपूर्ण परिस्थितिबाटै साहित्य सिर्जनाका विषय र भाव जन्मिने धारणा व्यक्त गर्नुभयो ।


त्यस्तै, गीतकार दिनेश अधिकारीले कवि प्रज्वल अधिकारीको सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै साहित्यिक यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रज्वलले पहिलोपटक कविता वाचन गरेको सुनेदेखि नै आफू प्रभावित भएको स्मरण गर्नुभयो । लोकार्पण कार्यक्रममा कवि प्रज्वल अधिकारीले सङ्ग्रहभित्रका दुई कविता वाचन गर्नुभयो । उहाँले श्रीमती अस्मी सुवेदीलाई आफ्नो कविताको पहिलो पाठक तथा जीवनका उतारचढावको निरन्तर साक्षीका रूपमा चित्रण गर्नुभयो ।

‘अस्तित्वको ब्रह्माण्ड’मा ७१ वटा कविता समावेश छन् । सङ्ग्रहले अनुभूति, अस्तित्व र मानवीय चिन्तनका विविध आयामलाई कवितामार्फत अभिव्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार