काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै आज शनिबार कागतिहार मनाइँदै छ। कात्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मिठा परिकार खान दिने परम्परा रहेको छ। धार्मिक मान्यतासँगै कागको बाठोपन, स्मरणशक्ति र मानव समुदायसँगको सम्बन्धका कारण पनि यसको विशेष महत्त्व रहेको छ।>
पूर्वीय सभ्यताअनुसार कागलाई सत्ययुग र कलियुग जोड्ने बाठो पन्छीका रूपमा लिइन्छ। सत्ययुगमा देवताहरूले अमृतको सुरक्षा गर्ने जिम्मेवारी कागलाई दिएको र कागले अमृत चाखेर चुच्चोमा लागेको अमृत दुबोमा पुछेको किंवदन्ती प्रचलित छ। यही अमरत्व र बाठोपनको प्रतीकका रूपमा कालान्तरदेखि कागतिहारमा कागको पूजा गर्ने परम्परा बसेको वरिष्ठ चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ।>
पन्छीहरूमध्ये कागलाई बाठो र मानवमैत्री चराका रूपमा चिनिन्छ। कागमा मानिसमा जस्तै सिक्ने, सम्झने र परिस्थितिअनुसार व्यवहार परिवर्तन गर्ने क्षमता हुन्छ। भविष्यका लागि खाना सञ्चित गर्नुपर्ने बुद्धि भएकैले कागले खानेकुरा लुकाएर राख्ने गरेको चराविद् बरालको भनाइ छ।>
मरेका जीवजन्तु तथा किरा खान रुचाउने कागको जीवन सङ्घर्षपूर्ण रहेको वरिष्ठ चराविद् टीकाराम गिरी बताउनुहुन्छ। उहाँका अनुसार कागले काठको छेस्को प्रयोग गरेर मरेका किरा निकालेर खाने र भाँडामा ढुङ्गा खसालेर पानीको सतह माथि ल्याई प्यास मेटाउने जस्ता बुद्धिमानीपूर्ण काम गर्छ।>
कागमा खानेकुरा प्राप्त गर्ने र सुरक्षित राख्ने विशेष क्षमता हुन्छ। कसैले खानेकुरा बोकेर हिँडेको देखेमा पछ्याउने र मौका मिल्नासाथ खोसेर उड्ने गर्छ। ठूला रुखमा गुँड बनाउने घरकाग आफ्नो समूहको सुरक्षामा पनि निकै चनाखो हुन्छ। समूहको कुनै सदस्यलाई आक्रमण भएमा अन्य कागहरू एकजुट भएर आक्रमणकारीलाई लखेट्ने गर्छन्।>
विपद्को सङ्केत दिने पन्छी>
कागलाई प्राकृतिक विपद् तथा जोखिमप्रति सचेत गराउने पन्छीका रूपमा पनि लिइन्छ। बस्ती वरपर सर्प, ढाडे बिरालो, चितुवा तथा बाघजस्ता जनावर देखिएमा कागले ठूलो आवाजमा कराएर अन्य पन्छी र मानिसलाई समेत सतर्क गराउने चराविद् बराल बताउनुहुन्छ।>
काग कराउँदा घरमा पाहुना आउने वा शुभ समाचार प्राप्त हुने धार्मिक तथा सामाजिक विश्वास पनि नेपाली समाजमा रहिआएको छ। कागलाई यमराजको दूत वा सन्देशवाहकका रूपमा मानिने धार्मिक विश्वासका कारण कागतिहारमा यसको पूजा गर्ने परम्परा बसेको हो।>
नेपालमा घरकाग, वनकाग र हिमाली क्षेत्रमा पाइने ठूलो राजकागलगायत विभिन्न प्रजातिका काग पाइन्छन्। तर ठूला रुख कटान तथा घना बस्ती विस्तारका कारण कागको प्राकृतिक वासस्थान घट्दै गएको छ।>
कागतिहारमा कागलाई पहिलो खाना अर्पण>
तिहारको पहिलो दिन कागतिहारका अवसरमा बिहानै कागलाई मिठा परिकार तथा खानेकुरा अर्पण गर्ने चलन छ। घरको अग्लो ठाउँ, पर्खाल वा छतमा खानेकुरा राखेर कागलाई बोलाउने गरिन्छ।>
धार्मिक विश्वासअनुसार कागलाई मृत्युका देवता यमराजको दूत मानिन्छ। पृथ्वीलोकमा भएका राम्रा तथा नराम्रा घटनाको सूचना कागले यमराजसम्म पुर्याउने जनश्रुति छ। त्यसैले कागतिहारका दिन कागलाई सम्मानपूर्वक पूजा गरी खाना खुवाउने परम्परा रहिआएको छ।>
कागको पूजा केवल धार्मिक आस्थासँग मात्र जोडिएको विषय नभई प्रकृतिमा रहेका हरेक जीवप्रति सम्मान, सहअस्तित्व र संरक्षणको सन्देशसमेत हो।>>