>
>
>
पाल्पा। पाल्पाको रामपुर नगरपालिकाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (पान) दर्ता सेवा सुरु गरेको छ। सेवाग्राहीलाई सहज रूपमा करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आफ्नै कार्यालयबाट सेवा सञ्चालनमा ल्याएको हो। मङ्गलबार सेवाको शुभारम्भ गर्दै नगर प्रमुख रमणबहादुर थापाले पान दर्ताका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन आन्तरिक राजस्व कार्यालय बुटवल, रुपन्देहीसँगको समन्वय तथा सहकार्यमा सेवा सुरु गरिएको बताउनुभयो।नगर उपप्रमुख बालकुमारी थापाले सङ्घीयताको मर्मअनुसार नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले पान दर्ता सेवा सुरु गरिएको बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितका अनुसार नगरपालिकाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गरेर सेवा सञ्चालनमा ल्याइएको हो।कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत चिरञ्जीवी बस्यालले करसम्बन्धी सेवा नागरिकको नजिक पुर्याउनु महत्त्वपूर्ण भएको बताउनुभयो। कर अधिकृत परशुराम पोखरेलले करदाता दर्ता, आय विवरण, पान दर्ताका प्रकार, अनलाइन दर्ता प्रक्रिया, मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्तःशुल्कसम्बन्धी विषयमा सहजीकरण गर्नुभयो।>
रामपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले नगरपालिकाबाटै पान दर्ता सेवा उपलब्ध हुँदा स्थानीय व्यवसायीलाई सहज हुने बताउनुभयो।सेवा शुभारम्भका अवसरमा रामपुर नगरपालिका–८ स्थित हाम्रो सेखामे फेन्सी पसलकी सञ्चालक लीलाकुमारी मानन्धरलाई पहिलो सेवाग्राहीका रूपमा पान दर्ता प्रमाणपत्र प्रदान गरिएको थियो। लामो समयदेखि पान दर्ता गर्न चाहेकोमा नगरपालिकाबाटै सेवा लिन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो।>
नगरपालिकाका अनुसार अब व्यक्तिगत तथा व्यावसायिक पान दर्ता, व्यक्तिगत पानलाई व्यावसायिक र व्यावसायिक पानलाई व्यक्तिगत पानमा रूपान्तरण, दर्तासम्बन्धी विवरण संशोधन तथा करदाता अभिलेख व्यवस्थापनको सेवा उपलब्ध हुनेछ। साथै भ्याट तथा अन्तःशुल्कसम्बन्धी सेवामा पनि सहजीकरण गरिनेछ।नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले स्वागत गर्नुभएको थियो भने योजना शाखा प्रमुख विक्रम बस्नेतले सञ्चालन गर्नुभएको थियो। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, उद्योगी, व्यवसायी तथा सरोकारवालाको सहभागिता रहेको थियो।>>
>
>>>>>