काठमाडौँ, असोज २७ गते । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज मङ्गलबार नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।>
पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा पनि चन्द्रघण्टा देवीको महिमाबारे उल्लेख गरिएको छ।>
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको पूजा आराधनाबाट शक्ति प्राप्त हुने धार्मिक विश्वास छ। देवीको स्वरूप पहेँलो वर्णको रहेको र उहाँले अत्याचारी दानवी शक्तिको नाश गर्ने धार्मिक ग्रन्थमा उल्लेख छ।>
चन्द्रघण्टा देवीको पूजा गर्दा मणिपुर चक्रमा ध्यान गर्ने परम्परा रहेको छ। देवीको कृपाले पाप नाश हुनुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ। वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार चन्द्रघण्टा देवीको स्वरूप शान्त, सामान्य र करुणामयी रहेको छ। विशेषगरी गीत–सङ्गीत क्षेत्रमा लागेका व्यक्तिले देवीको आराधना गर्ने धार्मिक परम्परा छ।>
नवरात्रको पहिलो दिन आइतबार घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जौको जमरा राखिएको थियो। पहिलो दिन शैलपुत्री र दोस्रो दिन सोमबार ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको थियो। आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै छ।>
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत् तथा अन्य देवी स्तोत्र पाठ गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्।>
नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।>
नवरात्रका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। कतिपय भक्तजन नौवटा शक्तिपीठको दर्शन गर्ने उद्देश्यले विभिन्न मन्दिर पुग्ने गरेका छन्।>
नवरात्रमा गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।>>