दाङ । दाङको लमहीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।>
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक श्रीकुमार पौडेलका अनुसार बुधबार बिहान करिब ८ः३० बजे लमही नगरपालिका–९ स्थित शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको हो। बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको भे.१ ख. ३२३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको उहाँले जानकारी दिनुभयो।>
लुम्बिनी भ्रमण गरी कोहलपुर फर्किरहेको उक्त बस कोहलपुर नगरपालिका–१४, हवल्दारपुर, बाँके निवासी २६ वर्षीय राजकुमार विकले चलाउनुभएको थियो। दुर्घटनाका समयमा चालक र सहचालकसहित बसमा ५३ जना सवार थिए।>
दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो। अन्य ३७ जना यात्रुको अवस्था सामान्य रहेको र चालक, सहचालक तथा बस प्रहरी नियन्त्रणमा रहेको उहाँले बताउनुभयो।>
घाइते हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–४ निवासी २० वर्षीया पूर्णिमा थापा र २२ वर्षीया अनिषा सुनार रहेका छन्। त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका–३ निवासी १९ वर्षीय जीवन सुनार, ३० वर्षीय सन्दीप सुनार, १८ वर्षीया सन्ध्या सुनार, १८ वर्षीया निकिता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली, १८ वर्षीया मनिषा सुनार, १५ वर्षीया पूजा सुनार, दीपक सुनार, १६ वर्षीया पुष्पा सुनार र २२ वर्षीय करण सुनार घाइते भएका छन्।>
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो।>>