रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा गुडिरहेको विद्युतीय गाडी (ईभी) को ढोकाबाट खसेर एक यात्रु गम्भीर घाइते भएका छन्। लिवाङबाट जुगारतर्फ जाँदै गरेको ईभीमा सवार यात्रु ढोकाबाट खसेर टाउकोमा चोट लाग्दा घाइते भएका हुन्।>
जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्राप्त विवरणअनुसार मङ्सिर २ गते राति करिब ८ः१५ बजे त्रिवेणी गाउँपालिका–५ स्थित जनजागृति स्कुलको गेटनजिकै नुवागाउँ–जुगार भित्री सडकखण्डमा उक्त घटना भएको हो।>
भे १ ज १७६२ नम्बरको ईभीमा सवार त्रिवेणी गाउँपालिका–३ छाप निवासी ३० वर्षीय गणेश घर्ती मगर गाडीको ढोकाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ। उक्त गाडी त्रिवेणी गाउँपालिका–६ कालिपानी निवासी करिब २५ वर्षीय राजु परियारले चलाइरहेका थिए।>
दुर्घटनामा यात्रु घाइते भएको सूचना राति ८ः२० बजे प्रहरी चौकी जुगारमा प्राप्त भएको थियो। सूचना पाएलगत्तै ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते घर्ती मगरलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय नेर्पा स्वास्थ्य चौकी पुर्याएको थियो।>
प्रहरीका अनुसार घाइतेको टाउकोमा चोट लागेको छ र उनको अवस्था गम्भीर रहेको छ। घटनापछि गाडीमा सवार अन्य आठ जना यात्रुलाई सुरक्षित रूपमा आ–आफ्नो गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।>
दुर्घटनालगत्तै प्रहरीले ईभी र चालकलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक विवरणअनुसार चालकले मादक पदार्थ सेवन गरे वा नगरेको भन्ने विषय खुल्न सकेको छैन। यद्यपि, गाडीका आवश्यक कागजात भने साथमै रहेको प्रहरीले जनाएको छ।>
उक्त घटनास्थल प्रहरी चौकी जुगारबाट करिब चार किलोमिटर पूर्वमा रहेको जनाइएको छ। घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>
यसैबीच, राति ११ः५० बजे प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले गाडी र चालकलाई इलाका प्रहरी कार्यालय होलेरी पुर्याएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।>
गुडिरहेको सार्वजनिक सवारीसाधनको ढोकाबाट यात्रु खसेर घाइते भएको यस घटनाले यात्रु सुरक्षाको विषयलाई पुनः गम्भीर बनाएको छ। विशेषगरी ग्रामीण तथा भित्री सडकमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा ढोका बन्द राख्ने, यात्रुलाई सुरक्षित रूपमा यात्रा गराउने र चालकले आवश्यक सावधानी अपनाउने विषयमा ध्यान दिनुपर्ने देखिन्छ।>>