यो संसार विचित्रको देखिन्छ । यस विचित्रताको संसारमा अनेक रहस्यमयी विषयसन्दर्भहरू भेटिन्छन् । मानव जीविकोपार्जनका लागि कतिपय प्रकृतिले प्रदान गरेको छ त कतिपय मानव निर्मित छन् । अनौठो तथा विचित्रको यो संसारमा मानव मस्तिष्कका सोचाइ वा चिन्तन पनि अचम्मको पाइन्छ । मानिस आदिम युगदेखि आजको एक्काइसौं शताब्दीसम्म आइपुग्दा उसले कतिपय कुरा सदैव ग्रहण गर्ने त कतिपय कुरा परित्याग गर्ने गरेको पाइन्छ । वास्तवमा विगतदेखि वर्तमानसम्म आइपुग्दा मानिसले धेरै कुरा छोड्यो होला, छोड्न पनि सक्छ होला र छोड्न पनि सक्नेछ तर उसले एउटा कुरा भने जान्नेबुझ्ने भएदेखि सास रहुन्जेलसम्म छोड्ने छैन, त्यो हो–पैसा । यो संसार लगाम बनाउने साधन बनिदिन्छ– पैसा, जब मानव मनमस्तिष्क यसैमा घोरिएपछि । यसरी यति ठूलो महत्त्व राख्ने पैसा धर्मशास्को सारथि हाँक्ने ईश्वर जस्तै भौतिक संसारको सारथि हाँक्ने सर्वशक्तिमान् वस्तु हो ।>
पैसा प्रयोगको अवस्थालाई हेर्दा भूत, वर्तमान र भविष्यतिर सन्धि नातो जोडेर मान्छेको हैसियतको नाडी छाम्नपुग्छ । घरमा छोरीको बिदाइ तथा छोराको नवप्रवेशी बधुको स्वागत गर्नका लागि होस् वा विवाहित गर्भवती महिलाको लागि दाइजोको रूप धारण गरेर आउन नसक्दा गलाको पासो बनिदिन्छ पैसा । अशक्त, अनाथ, असहाय, भिखारी, कानो, खोरण्डो जस्ता मानवीय स्थिति ल्याउने कतिपय अवस्थाको कारक तŒव हो–पैसा । हजारौं व्यक्तिको मृत्युको कारक तŒव हो– पैसा । गाउँ, सहर र गल्ली गल्लीमा हिड्ने मानिसको आशाको सन्देश बोक्ने तŒव हो–पैसा । ज्यान लिनेदेखि पुनर्जन्म दिने माध्यम बन्दोरहेछ– पैसा । हामीलाई सम्पूर्ण सुख, समृद्धि पैसाबाट हुन्छ भन्ने भावनाले गाँजिसकेको छ । त्यसैले हामी पैसाको दास बनेर हिडिरहेछौं ।>
साँच्चै अचम्मको रहेछ पैसा । पैसामा बन्धुत्व छ, मातृत्व छ । यति मात्र होइन, चेलीबेटी बेचाउने आमाबाबु नै भए पनि सम्बन्ध दूर गराउने, शत्रुता कमाउने आदि कार्यमा खप्पिस छ । दृश्य भएर पनि अदृश्य रूपमा सबको मनमस्तिष्कमा सुटुक्क पसेर अनेक शुभ अशुभका कार्य गर्ने यो जादुमय पैसा मूर्त हुँदा पनि अमूर्त देखिन्छ । बिपनामा मात्र देखिएर नपुगेर हरेक व्यक्तिका सपनामा समेत देखिन पुग्ने विचित्रमय तŒवको रूपमा यो देखिन्छ । कतै चटकी त कतै नर्तकी बनेर गरीबका झुपडीमा रुवाबासी गराइदिने, धनीका महलमा हाँसोखुसीका वर्षा गराइदिने यो कसैलाई धोका पु¥याउन त कसैलाई बोका बनाउनसमेत खप्पिस छ । दुनियाँमा रवाफ, भान्सामा कवाफ, नहुँदा पत्नीको तीतो जवाफ, कतै शत्रुता, कतै मित्रता, कतै प्रीत, कतै आजित, कतै ठूलो स्वर, कतै मलीन स्वर र कसैकसैको त जिन्दगीको पनि अन्त्य गराइदिनसक्नु यसको विशेषता भन्नुपर्छ । हरेक व्यक्तिको पद, प्रतिष्ठा, तह छुट्याइदिएको छ, पैसाले । जातिपाति संस्कार, संस्कृति भुलाउँदो रहेछ पैसाले । कोशी, गण्डकी, टनकपुर, लाउडा प्रकरण आदिदेखि राष्ट्रघाती सन्धिसम्झौता गराएको कारक तŒव खोज्न इतिहासका पाना पल्टाइरहनु नपर्ला । यसले व्यक्ति–व्यक्तिमा मितेरी साइनो लगाई विचित्रैको मानवीय संसार सिर्जना गरिदिन्छ ।>
यसको मोहले नेतालाई पनि नराम्ररी गाँज्न पुगेका कारण सम्मानित पदमा पुगेर पनि पैसेधन्दामा लाग्दा भ्रष्टाचार गरी पथभ्रष्ट बन्न पुग्छन् । त्यतिमात्र कहाँ हो र ? यिनै नेताहरूलाई स्वच्छ राजनीतिबाट पतीत बनाउन यो पैसा नामको वस्तु वा विषयले ठूलो भूमिका खेल्न पुग्दछ । चारित्रिक भलादमीका अगाडि बोक्रे भलादमी ठानिन पैसाको स्थानलाई उत्तम गराउनुपर्नेदेखि लिएर हरेक मानिसका सोच, भोज, पोज र मोजमा टेवा पु¥याउने माध्यम यही पैसा हो । महिलाका रूपरङ्ग पोत्ने साधन यही हो । यसैका कारण कति नेता देश बेच्न तयार हुँदा हुन्, सत्तामा बसेका भए सत्तेकुर्ची समातेर बसिरहन खोज्दा हुन् । नेता–नेताबीचमै कुर्ची तानातान, संसद भवनभित्रै मुक्का हानाहान हुँदा हुन् । राजनीतिमा यथास्थितिवाददेखि क्रान्तिकारिताका कुरा टोपल्नेसम्मकाको आस्थाको धरोहर हो– पैसा । देशको अग्रगतिको मुहार फेर्ने माध्यम यही रहेछ । सानादेखि ठूला योजनाहरूले सार्थक कार्यरूपमा ढालिन यसैको प्रतीक्षा गरिरहेछन् । देशका उद्योगधन्दा, कलकारखाना आदिले अप्रत्यक्ष रूपमा यसलाई साथ दिन भनिरहेछन् । तर यसले भने त्यति सहजै रूपमा कसैलाई पनि साथ दिएको भने देखिन्न ।>
यो पैसाको विचित्रे स्वभावले प्रभाव नपारेको क्षेत्र कहाँ होला र ? एउटा सानो बच्चाले समेत कसैले पैसा दिएको खण्डमा च्यापेर राख्न खोज्दछ । हाम्रो देशमा दामभन्दा नाम कमाउनका लागि भोका छौं भन्ने आवाज बुलन्द गर्ने तथा साहित्यबाट समाज राष्ट्र र अन्तर्राष्ट्रसमेत परिवर्तन गर्ने महत्त्वाकांक्षा लिएकासर्जकहरूको मनमस्तिष्कबाट पनि यो टाढा रहन सकेन । बरु यसले देवकोटालाई ‘मुनामदन’, ‘गरीब’, ‘भिखारी’, ‘पहाडी पुकार’, ‘पागल’ जस्ता रचना गर्न, भूपी शेरचनलाई ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, मोहन कोइरालालाई ‘घाइते युग’ जन्माउने तथा यस्तै अन्य सिर्जना गर्न प्रेरित ग¥यो । कविशिरोमणि लेखनाथ पौड्यालको मनमस्तिष्कबाट पनि यो अछुतो भएर रहन सकेन । भीमनीधि तिवारी, सिद्धिचरण श्रेष्ठ लगायतका कैयौं साहित्यकारहरू पनि धन पैसे महिमागान गर्ने शब्द वा वाणी सिर्जना गर्न पछि परेनन् । साहित्यकारहरूको कुरा यतिमै बिट मार्दै फेरि अर्को उदाहरणका रूपमा न्यायाधीसलाई नै किन नलिने ? एउटा न्यायाधीसले समेत पैसे फन्दामा पर्दा न्यायासनमा बसे पनि न्यायमन्दिरको नवनिर्माणमा तगारो हाल्ने गरेको उदाहरण खोज्नं अरू देशको नाम जप्नु पर्दैन । जता हेयो त्यस्तै, जता हेयो त्यस्तै– मन बुझाउने बाटो त छैन कतै, उदाहरणको रूपमा लिँदा शिक्षकको व्यवहार पनि उस्तै । राष्ट्रका जिम्मेवार व्यक्ति वा पवित्र पेसामा लागेका÷कहलिएकाहरूको कथाव्यथा पनि अन्य पदीय व्यक्तिहरूको भन्दा फरक रहन सकेन । बिहानै उठेदेखि राति नसुतुञ्जेलसम्म पिरियडौँपिरियडका लागि धाइरहने, त्यो नभए कोचिङ, ट्युसन, सकेसम्म केही नछाड्ने, बलबुतोले भ्याएसम्म गरिरहने भन्ने सोचाइमा पवित्रपन कहाँ भेटिन्छ र ? यस्ता व्यक्तिलाई पवित्र पेशामा लागेको भन्ने कि नभन्ने ? यो सोचनीय पक्ष हो ।>
क्षमता नभएर पनि कहाँ कसले मूल्याङ्कन, सम्मान तथा अवसर दियो वा ग¥यो र नहुने पक्षलाई ? गरीबलाई होला कि ! ले छाड्दैन, धनीलाई उप्पर माथिको चुप्पर गराउन पैसाले छोड्दैन । घर्तीका कुना कुनामा तथा अन्तरिक्षमा पुग्नसमेत यसकै सहारा चाहिने तर चाहियो भनेर सजिलै कहाँ पाइने ? वैज्ञानिकलाई विज्ञानका नवआविष्कार गर्नदेखि अध्ययन, अवलोकन, क्षेत्रगत भ्रमण, प्राप्त तथ्यको परीक्षण तथा पुष्टि गर्ने कार्यमा जुट्नुअगाडि पैसासँग दर्शनभेट गर्नुपर्छ । बिना धनको त धर्मकर्म पनि सफल नभएपछि आध्यात्मिक वा धार्मिक क्षेत्रलाई पनि दोषमुक्त बनाउन सकेन । यसले घरगृहस्थीतर्फका कथाव्यथा हेय भने त्यहाँ पनि त्यस्तै । घरमा श्रीमतीको कचकच, छोराछोरीको खचपच सुन्नु पर्ने पहिलो कारण यही हो । यी र यस्तै किसिमको प्रशस्तै अनन्त उदाहरणहरू हेर्दा संसारकै सारबस्तु हो– पैसा । पैसाका चिन्तनले मानव व्यवहारमा एकरूपता देखिदैन । पैसा वास्तविक सन्तोषदायक मात्र नभई बिलासी जीवनको सार पनि बनेको छ । बच्चा, युवायुवती वा वृद्धवृद्धामा समेत पैसा प्राप्तिको बढ्दो आकर्षणले संसारलाई प्रकृतिको सामीप्यताबाट तटस्थ बनाई मानव समाजमा विद्यमान बन्धुत्वलाई दुरुह गराउँदै गएको छ । गरीबका झुपडीमा आगो नबल्ने, एकसरो लाउन, एकछाक खान पनि नपाउने भएपछि के यसको शरण नपरेर भयो त ? पैसाबिहीन मानिसहरू जहाँ जोसुकैबाट अपमानित हुन परेको तीतो यथार्थ सत्य हाम्रासामु घामजत्तिकै छर्लङ्ग छ । धन वा पैसाको पहुँच हुनेका अगाडि धनपैसाको महिमाको बखान नगर्ने मानिसलाई उस्तै परे ‘पागल’ को संज्ञा दिने÷पाउने स्थिति आउन सक्छ । कुनै दिन त धनका अगाडि अरू विषयवस्तुले अस्तित्व जोगाउन हम्मेहम्मे पर्ने पो हो कि ? यस्तो अवस्था नआउँला भन्न सकिन्न । सत्यको बाटो अँगाल्ने, वास्तविक परिश्रमको भरमा बाँच्न खोज्ने एवम् आदर्शको बाटोमा नियमपूर्वक हिँड्छु भन्ने र व्यवहारमा ढालेरसमेत देखाउने कोही भए यो पैसे समाजको मूल्याङ्कनको अगाडि हाँस्यपात्र बनाई धज्जी उडाउने र उल्टै उसलाई ‘पाखे’ लगायतका नामको सम्बोधन गरिन्छ । ‘सादा जीवन उच्च विचार’ को आदर्श वाणी कोरा कागजको पानामा सीमित छन् । नीतिवचन वा जीवन बदल्ने प्रेरणादायी ज्ञानगुनका कुरा आज सुन्न पाइन्न । विद्यालयहरूमा यथार्थपरक नैतिक शिक्षा विषयका पढाइ हुनछाडे । बरु उल्टै आफूले पढाउने विषय सन्दर्भको कुरालाई केही बङ्ग्याई पैसे पाठका कथा सुनाउन थालिन्छन् । यो युगमा पैसा किन, कहाँ र कसलाई चाहिन्छ ? भनेर प्रश्न सोध्नुभन्दा पैसा किन कसलाई, कहाँ चाहिदैन भनेर सोध्नुपर्ने भइसक्यो । पैसे चामत्कारिक खेलका अनेकअनेक उदाहरणहरू छन्, जसलाई अनेकअनेक प्रसङ्गबाट झल्काउन सकिन्छ ।>
मरिहत्ते गरेर यसको शब्दरूपी मन्त्र जपे पनि विगत वर्तमानमा कहाँ सजिलै यसले साथ दिएको छ र ? एउटा गरीब तर जेहेन्दार–प्रतिभाशाली विद्यार्थी राम्रा कहलिएका विद्यालय कलेजमा पढ्न नपाउँदा प्रतिभा र क्षमताले भित्रभित्रै गुम्सिन वा क्षमता प्रतिभालाई पोख्न तथा कार्यरूपमा ढाल्न नपाउँदा ती प्रतिभा क्षमतामा आर्थिक अङ्कुस लागी तुषारापात हुनपुग्छ । क्षमतावान्ले पैसे सोर्सफोर्स नहुँदा यथोचित स्थान र पदमा जागिर खान पाउँदैन वा बेरोजगारै भएरै रहनुपर्दछ । यसले उसलाई यथोचित प्रतिभाको कदर हुन नपाउने स्थिति सिर्जना गर्दछ । अरू उदाहरण पनि हेरौ न ! निजी संस्था खोलेर ‘सेवा गर्न खोलिएको’ भनि तथाकथित खोक्रो ढ्वाङ फुकेर मजदुर वा कामदारलाई न्यून, मध्यम र प्रायः चरम स्थितिसम्मका शोषण गर्नेहरूको के यही हो सेवा ? कदापि होइन । केवल यस्तो शोषणले मजदुर वा कामदारलाई हली बनाई राख्नु त त्यस्ता पक्षको पैसाको अकुत भण्डार गर्ने सपना मात्र हो । हैन ! यो पैसा त जानिनसक्नु पो रहेछ है ! एउटा घरबेटीको सहरमा वा कुनै दृष्टिले पायक पर्ने स्थानमा घर होस् उसका घरमा भाडामा कोही बस्दा उसले अनायासै रूपमा एक वर्ष पनि बित्न नपाउँदै घरभाडा दोब्बर बढाउने प्रवृत्ति, त्यो पनि अत्यन्त बेनियम र असान्दर्भिक रूपले देखाउँछ भने उसको त्यो स्वभाव वा रहस्यमा के पाइन्छ भने उसले भाडा बढाएरै त्यही भाडाले छिटोछरितो रूपमा घर बनाउँदाको खर्च वा अन्य घरखर्च निकाल्न खोजेको छ, अथवा उसलाई आफ्नो विद्यमान कमाइले पुगेन भन्ने सोच्नु जायज होला । व्यापारीको हालत पनि त्यस्तै । उसले पनि अवैध धन्दा गरेर पैसा कमाउन चाहन्छ । सकेसम्म अरूलाई ठगेर एवम् ग्राहकको दिलमा गहिरो चोट पारेर सकेसम्म अरूलाई ठगेर एवम् ग्राहकको दिलमा गहिरो चोट पारेर पैसाको भकारी भर्न चाहन्छ । ठेकदार र दलालहरूको त कुरै नगरौँ । यिनीहरूले शब्दजालमा भ्रमजाल थपी छिनभरमै सजिलै पैसा कमाउँछन् । यी सबै उदाहरणहरू हेर्दा आदर्शका नारा जपिए पनि ती नारा सबै खोक्रा भइसकेका छन् भन्ने प्रमाणित हुन्छ ।>
जीवन पाएपछि मान्छे बाँच्नैपर्ने । जिजीविषाले उसलाई कत्ति छोड्दैन । यसका लागि सहारा चाहिने पैसाको । यसकै सहारा खोज्दा मान्छे गाउँबाट सहर पस्छ । हिमाल, पहाडबाट तराई पस्छ वा राजधानी केन्द्रित हुन्छ अथवा आफूलाई हरसुविधाले पायक पर्नेमा जान्छ । स्वदेशमै नभए विदेश पस्छ । ‘मान प्रतिष्ठा नभएर के भो र ? पैसा भए त सबै भो’ भन्नसमेत ऊ पछि पर्दैन । हेर्दै खोक्रिएको मान्छेलाई बोके रूप दिने आखिर यही पैसे रहेछ । अहिलेको युगमा उद्यमी÷इलमी भनेर धन हुनेलाई नै मानिन्छ । यहाँसम्म कि मानवको औपचारिक नाम राख्न र उसको जन्मकुण्डली लेखिनदेखि लिएर जीवन अन्त्यको औपचारिक पुष्टिका लागि पनि पैसै चाहिन्छ । जीवनसाथी भनेर चिनिने श्रीमतीले पनि पैसावाल श्रीमान नभए ‘हुतिहारा’, ‘नामर्द’ तथा यस्तैयस्तै तीतोपिरो लाग्ने शब्दको पगरी गुथाई श्रीमानबाट टाढिन्छे । श्रीमान पनि के कम र श्रीमतीको लागि ? उसले पनि उस्तैपरे पैसा कमाउनकै लागि श्रीमतीसमेत बेच्न तयार हुन्छ । आखिर पैसा प्रयोग नगर्ने र नचाहिने को त ? यसको जवाफ चेतनाशून्य प्राणीबाहेक अर्को नहोला ।>
यो धर्तीमा रित्तो हात आई रित्तै हात जाने भए पनि बाँचुञ्जेल घरपरिवारको जिम्मेवार र उत्तरदायी हुनुपर्ने भए पनि आफ्नाप्रति बेवास्ता गर्दैस्वार्थी बनेर आफ्नोमात्र सोच्न पुग्ने बनाउँदो रहेछ– पैसाले । अत्यन्त उत्तरदायी र कर्तव्यनिष्ठ बनी प्रस्तुत हुँदै र आफ्ना परिवारका लागि सुखको स्रोत खोज्न भनी दुःखी, गरीब, पीडितले प्राण हत्केलामा राखेर विदेशिने गरेको कारुणिक कथाले÷दृश्यले कसको मन छुदैन र ? मजदुर वर्गले अठार घण्टा परिश्रम गर्दा पनि के बढी उपलब्धि पो पाएका छन् त ? उनीहरूको परिश्रमको वास्तविक मूल्य÷मूल्याङ्कन कहाँ छ, खै ? यी सबै विवशतामा केन्द्रित छन् । बाँच्ने अभिलाषाले गर्दा त्यति हदसम्मको परिश्रम गर्न बाध्य छन् तिनीहरू । के गर्ने ? कसैको जीवन विलासी, कोही सडकपेटी, कोही छन् खेतबारी, कोही त देखिन्छन् द्रव्यपिचासी । धर्तीमा मानवको अवस्था यही रूपमा देखिन्छ । पैसा सन्दर्भका विविध पक्षमध्ये यो विषयले त कानूनी फन्दामा परेकालाई पनि धेरै हदसम्म त जोगाउनसक्ने भएकाले गर्दा मानिस मनुषत्व छाडेर निडर बनी अनेक कुकृत्यमा अनैतिक मात्र नभई दानवी रूपको घटनाक्रमका श्रृङ्खलाहरू पनि दोहोऱ्याइरहेकाछन् । यतिसम्म कि मानिसलाई कतिपय अवस्थामा परिश्रम अनुसारको पैसाले नपुगेर पतीत बाटो रोज्न पुगेका ज्वलन्त उदाहरण सबै जसो पदीय तह र तप्कामा छन् । पैसाले “म खाऊ मै लाऊँ, सुखसयल वा मोज म गरूँ, म बाचूँ, मै नाचूँ अरू सब मरून् दुर्बलहरू” भन्ने भावनालाई मलजल गरेको छ भन्नु अतिशयोक्ति हुँदैन । ठूलाठूला महल, दरबार सजाउन होस् वा गरीबका झुपडी बनाउन होस् यसको साथबिना सिन्को पनि नभाँचिने अवस्था हुनाले मान्छेले बलबुतोले भेटेसम्म पैसा कमाउन लागेको हो । जसरी हरेक मान्छेलाई आफ्नो प्राण प्यारो हुन्छ, त्यस्तै अर्को दोस्रो प्राणसरहकै रूपमा मानिसले पैसा मानेकाले प्राण छोड्न र पैसा छोड्न एकै भएको हो । जीविकोपार्जन वा जीवन व्यवस्थित गर्नका लागि पैसा कतिसम्म कमाउने भन्ने दायरा स्पष्ट नभएकाले होला पैसा ! पैसा !! भनी मान्छे भौतारिइरहेको । के गर्ने ! धनीका क्षमता कमैका हुन्छन् गरीबका क्षमता, सीप, योग्यता भए पनि ती ओझेलमा पर्नाले औकात अनुसारको स्तरसम्म पुग्न सहयोग गर्दैन निष्ठुरी पैसाले । मान्छे अचम्मको स्वभाव देखाउने प्राणी हो । मानिस जति पैसा कमाउन चाहन्छ, त्यति भने चाहँदैन । फेरि यही पैसाले गर्दा कतिलाई भोक, तिर्खा त कतिलाई निद्रा छैन, विलासितामा रहँदा पनि सुखको अनुभूति छैन । ऊ रोगी बन्छ, उसभित्र डरत्रास छ, कि कसैले लुट्छ कि कसैले चोर्दिन्छ वा आफ्नै ज्यान समाप्त पार्दिन्छ कि यस्तै यस्तै । यथार्थमा पैसे स्वभाव ‘नभए एक शोक, भए सय शोक’ भन्ने देखिन्छ । मान्छेको पैसे आर्जननीति स्पष्ट नहुँदा पीडित बनिरहेछन्, सिकिस्त बन्दै गइरहेका छन्, कुनै दिन क्षतिग्रस्त बन्न जानेछन् । पैसा साधन हो साध्य होइन भन्नेहरूको विचार पनि यो परिवेशमा खल्लो भएको अनुभूति अब मान्छेले पद, प्रतिष्ठा, इज्जत, नैतिकता, महत्त्वपूर्ण ज्ञान विज्ञानको भन्दा बढी जोड पैसालाई दिएका कारण कमाउने ध्याउन्नमै लागेको छ । रोएर होइन खुसीले खाऔँ, पिऔं र रमाऔंको नीति सिद्धान्तअनुरूप भोगविलासबाटै जीवन बिताउनुपर्छ भन्ने जीवनको मूल आदर्श पक्ष भएको छ । कतिपय अवस्थामा भाग्य निर्धारणको आधार नै यही भइदिएको छ । >
‘मलाई पैसा चाहिएको छैन’, ‘म पैसा कमाउनप्रति इमान्दार छु’ भन्ने मान्छे भेटाउन र प्याज नखाने ब्राह्मण भेटाउनु उस्तै हो । पैसे प्रवृत्ति विचित्रमय भएकाले पैसा र मानवसम्वन्ध अटुट रहँदासम्म कोही दुधै दुधले नुहाएकाहरू भेटिने छैनन् । पैसा कमाउनु एक पक्ष हो भने यसलाई व्यवहारिक प्रयोजनमा उपयोग गर्नु अर्को पक्ष हो । यसको उपयोगिता सही नभए यो मित्र मात्र नभई पूर्ण शत्रुसमेत बन्न पुग्दछ । यसलाई सही रूपमा चिन्न नसके वा प्रयोगमा नल्याए मान्छेभित्र यसले काम, क्रोध, लोभ, मोह, मात्सर्य, पैशुन्य, असुया जस्ता दुर्गुण भित्रिने र मैत्री, क्षमा, सन्तोष, अनाशक्ति, संयम, निरपेक्षता, सौमनस्य र सहिष्णुता जस्ता सद्गुण बिनासको कारक हुनेछ । यो बैभवपूर्ण संसारमा हामीमात्र दीनहीन भएर त बस्न चाहन्नौँ । परन्तु संसारमा जो सम्पन्न छन्, तिनीहरू पनि आन्तरिक रूपले अशान्त छन् । शारीरिक स्तरमा प्राप्त हुने सच्चा सुख त्यही हो, जसले शरीरको पारमा पु¥याउँछ अनि मानसिक स्तरको सुखतिर यात्रा गर्छ । पैसा पाउने वा कमाउने कुराले गर्दा रोगी शरीर भए पनि भोलि उपचार गरौंला तर आज पैसा कमाउन लाग्नुपर्छ भन्ने सोंचाइ ‘पैसे मनोग्रन्थि’ हो । यसले मानसिक सुख दिँदैन । मानव जीविकोपार्जन गर्ने साधन पैसा प्राप्तिको स्रोतहरू शिक्षण संस्था, उद्योग, कलकारखाना, पर्यटन, कृषि, पशुपालन, मत्स्यपालन, व्यवसाय, पेशा, विविध सरकारी तथा निजी संस्थाहरू आदि हुन् । यिनै माध्यमबाट मान्छेहरू जीविकाका लागि पैसा कमाउँदै आएका छन् । कतिपयले भने पैसा दुरुपयोग गरी बेफ्वाँकमा उडाएका पनि छन् । कैयौंले पैसाकै माध्यमबाट सेवा, इज्जत, प्रतिष्ठा, नाम कमाई इतिहासमा सुरक्षित हुने अवसर पनि पाएका छन् ।>
पैसाको विकृत पाटोलाई हेर्दा यसले मानिसलाई कतिसम्म बेकाम्मा (बेइमान) बनाउँछ भन्ने उदाहरणहरू समाज, राष्ट्र र अन्तर्राष्ट्रमा कतिसम्म व्याप्त>
छन् भन्ने कुरा स्पष्ट पारिरहनु नपर्ला । यहाँ जनजीविकाका केही सान्दर्भिक साधारण घटना प्रसङ्गलाई पनि कोट्याउँदा अनर्थ हुने छैन । ऋण लिएको मानिसले ऋण तिर्ने दिन सकेसम्म कहिल्यै नआओस् ठान्छ । उधारो सामान लिएकाले पैसा चुक्ता गर्ने वा दिनका लागि भोलि भोलिभन्दै जुनी बिताइदिन्छ । होटेल, रेष्टुराभित्र पसेर पेटभर खाँदासमेत सकेसम्म पैसा तिर्न नपरेहुन्थ्यो भन्ने भावनाले जो कोही पनि ग्रसित हुन पुग्दछ । सकेसम्म सँगै पसेका साथीहरूले नै पैसा तिरिदिए हुन्थ्यो भन्ने भावना तथा पैसा तिर्न परे चेहरासमेत बदलिन पुग्ने स्थिति भेटिन्छ, त्यस्ता सोच भएकाको । त्यस्तै विद्यार्थीलाई शिक्षकको कोचिङ, ट्युसनको ‘फि’ तिर्ने कुराले ज्वरो आउँछ । शिक्षण संस्थामा शुल्क तिर्नुपर्ने कुराले तड्पाइरहन्छ । उपाय भएसम्म नतिरेरै मन शान्त पार्नेहरू पनि हुन्छन् । यस्ता घटनाहरूले पैसे मनोवृत्ति दर्शाउँछन् । पैसाका दुष्प्रवृत्तिगत मानवीय व्यवहारहरूले गर्दा नै मान्छेले कदर्य, लोभी, चुइय्या, मख्खिचुस, भ्रष्टाचारी, दलाल, सामन्ती, शोषक, भुक्का, ठग, मगन्ते आदि उपमाहरू पाएका छन् । लोकप्रिय यी शब्दहरू सही रूपमा पैसा नकमाउने, शोषण गर्ने तथा आवश्यक पर्दा सहयोग तथा उपयोग नगर्ने आदिप्रति खनिएका हुन् । व्यवहारअनुसार यी शब्द प्रचलन सान्दर्भिक पनि छन् ।>
पैसाबिना कहाँ के हुन्छ ? वा के पाइन्छ र ? भन्ने मानसिकता भएपछि त्यसको साथबिना त को बाँच्न सक्ला र ? अत्यधिक पैसे खेलमा लाग्दा वा धन कमाउने अभ्यासमा जुटिरहँदा मानवीय गुणका साथै मानवतासमेत ह्रास भइरहेको तथ्य उसका क्रियाकलापात्मक प्रस्तुतिबाट देखिन्छ । हिजोआज पैसाको पछि लाग्दा बढी स्वार्थीपना बढिरहेछ । यसको दौड र प्रतिस्पर्धाले भलाकुसारी गर्ने फुर्सद छैन मान्छेलाई । आत्मियताको सागर सुकिसके । मान्छे पैसे पुजारी बनेकाले राम र भरतको भातृप्रेम त यहाँ एकादेशको कथा जस्तो लाग्न थाल्यो । मानिसमा अब विज्ञानप्रविधि बिकासको मोहभन्दा पैसाको मोह बढिरहेको छ । पैसाले मानसिक खुसी, शान्ति हरण गरेको छ । खुसी, निद्राजस्ता अत्यावश्यकीय विषय साह्रै महँगा भएका छन् । धर्मकर्ममा प्रश्नचिन्ह तेर्सिएको छ । आखिर सभ्य भएर के नाप्यो त मान्छेले ? चारित्रिक शुद्धिकरणको अभाव छ । सत्यच्यूतको प्रभाव हावी छ । लुटफुटको धन्दा व्याप्त छ । संसारका ऐतिहासिक परिवर्तनहरू– फ्रान्सको राज्यक्रान्ति, रसियन क्रान्ति, जापानको औद्योगिक क्रान्ति जस्ता अनेकन विषयहरू धेरै हदसम्म यसकै विषयमा जोडिन पुगेका छन् । पैसाको अन्धवेगले मानिसलाई रइस बनाई सामन्तीसम्म बन्ने बाटो खोलेको छ । संसारलाई निरीह पारी ‘सन्तोषम् परमम् सुखम’ को मान्यता भुलेको छ । धेरैधेरै विषयमा सामीप्यता गाँसी यसले अनेक खेल खेलेको छ । तसर्थ यसैलाई माध्यम बनाई सत्मार्ग छाडी कुमार्ग रोज्नु मानिसको बुद्धिमता होइन । सही सदुपयोग गरी जीवन र जगतको भलोमा यसलाई उपयोग गरिनु श्रेयस्कर हुन्छ ।>
अन्ततः यो युगमा मानिसले अन्य सबै चिज त्यागे पनि आफ्नो आवश्यकता, स्वार्थ, युगीन महत्त्व तथा आफ्नो र पारिवारिक प्रगति, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकासको स्थायित्व लगायतका विविध कारणले गर्दा दोस्रो प्राणसरहको पैसालाई कहिल्यै त्याग्ने छैन । मानिसहरू समयसँगै यसको पछि लागिरहने छन् । यो पाउन सधैं दगुरिरहनेछन् । यसको जादुगरी चमत्कार संसारमा रहिरहनेछ ।>