काठमाडौं । चालु आर्थिक वर्षको भदौसम्म नेपालको शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। रेमिट्यान्स र निर्यातमा भएको वृद्धिसँगै शोधनान्तर बचतमा सुधार आएको हो।>
चालु आर्थिक वर्षको भदौ महिनामा रेमिट्यान्स आप्रवाह २ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ। यसैगरी, निर्यात ६९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।>
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा थियो।>
अमेरिकी डलरमा गत आर्थिक वर्षको सोही अवधिमा ९३ करोड ६७ लाख डलरले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ११ करोड डलरले बचतमा रहेको छ।>
चालु आर्थिक वर्षको भदौमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ थियो।>
यसैगरी, चालु आर्थिक वर्षको भदौमा २ अर्ब ९८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।>
चालु आर्थिक वर्षको भदौसम्म शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो।>
अमेरिकी डलरमा गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा बढेर १ अर्ब २३ करोड डलर पुगेको छ।>>