समाचार राष्ट्रिय समाचार प्रदेश १७ असोज २०८३, शनिबार

गल्छी–वेत्रावती सडकखण्डमा यातायात सञ्चालन

Rastriyanews

काठमाडौँ, असोज १७ गते । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध गल्छी–त्रिशूली–वेत्रावती सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ।

ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै शुक्रबारदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्। सडक खुलेसँगै बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको रसुवा पुनः जोडिएको छ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख इन्जिनियर कृष्णनाथ ओझाका अनुसार मुख्य रूपमा वेत्रावती भिर र उत्तरगया पब्लिक स्कुल नजिकको कडा चट्टान काटेर नयाँ ट्र्याक निर्माण गरिएको हो।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक दसैँको मुखमा सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा व्यापारीलाई राहत पुगेको छ।

गत भदौ १० गते आएको भीषण बाढी तथा पहिरोले गल्छी–रसुवागढी सडकखण्डको करिब ५५ किलोमिटर क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले पुल तथा सडक संरचनामा क्षति पुर्‍याएपछि रसुवा सडक सञ्जालबाट विच्छेद भएको थियो।

बेलिब्रिज निर्माण तीव्र

बाढीले बगाएका पुलका स्थानमा आपत्कालीन बेलिब्रिज जडानको काम पनि अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि जग तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा जडानको तयारी भइरहेको छ।

रसुवातर्फ पनि बेलिब्रिजको जग निर्माण अन्तिम चरणमा पुगेको छ। एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जनाइएको छ।

‘ग्रेड’ मिलाउन र ग्राभेल हाल्न बाँकी

सडकमा यातायात सञ्चालन भए पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने लगायतका प्राविधिक काम भने बाँकी छन्। सडकलाई थप व्यवस्थित बनाउन बेलिब्रिज जडानसहित बाँकी निर्माण कार्यलाई तीव्रता दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार