चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना

Rastriyanews

पाल्पा, असोज २४ । मानसिक स्वास्थ्यसम्बन्धी समस्या न्यूनीकरण गर्ने र यसबारे खुलेर कुरा गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले पाल्पाको तानसेन नगरपालिका–७, बाँसटारीमा ‘चिया अनि मनका कुरा’ कार्यक्रम आयोजना गरिएको छ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा रोटरी क्लब अफ पाल्पा लुम्बिनीले ‘चियासँग मनका केही कुरा, आउनुहोस् खुला मनले कुरा गरौँ’ भन्ने सन्देशसहित कार्यक्रम आयोजना गरेको हो।

पछिल्लो समय मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएकाले यसबारे खुलेर संवाद गर्ने वातावरण सिर्जना गर्न कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष शिखा पहारीले जानकारी दिनुभयो। मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका व्यक्तिको हेरचाह गर्नु र उनीहरूलाई सामान्य जीवनयापनमा सहयोग पुर्‍याउनु सबैको दायित्व भएको उहाँले बताउनुभयो। उहाँले दयाभन्दा पनि माया, स्नेह र आत्मीयतामा आधारित सामाजिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागीले चियासँगै आफ्ना मनका कुरा साटासाट गरेका थिए। मानसिक स्वास्थ्यसम्बन्धी समस्या तथा त्यसका लक्षण अनुभव गरेका ७० जनाभन्दा बढी सेवाग्राहीले चिकित्सकसँग प्रत्यक्ष भेटघाट गरी परामर्श सेवा लिएका थिए। उनीहरूलाई चिकित्सक एवं प्राध्यापक आलोक आत्रेय, डा. समता नेपाल, डा. विष्णु आचार्य र डा. हिमाल घिमिरेले परामर्श दिनुभएको थियो।

कार्यक्रममा सहभागीले चित्रकला, संगीत र गायनमार्फत आफ्ना कला, सीप तथा प्रतिभासमेत प्रस्तुत गरेका थिए। चिसो मौसममा तातो चियासँगै मनका कुरा साटासाट गर्ने अवसरले मानसिक स्वास्थ्यका विषयमा खुलेर बोल्न र आफ्ना समस्या व्यक्त गर्न सहज बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा रोटरी क्लबका निवर्तमान अध्यक्ष लक्ष्मण कोइराला, पूर्वअध्यक्षहरू रमेश न्यौपाने र प्रदीप खनाल, स्वास्थ्य कार्यालय पाल्पाकी पब्लिक हेल्थ नर्स शान्ति भण्डारी, क्लबका कोषाध्यक्ष दीपक जिसीलगायतको सहभागिता थियो।

रोट्र्याक्ट क्लब अफ लुम्बिनी र लियो क्लब अफ लुम्बिनीको सहकार्यमा आयोजित कार्यक्रममा करिब एक सय कप चिया वितरण गरिएको थियो। क्लबकी अध्यक्ष शिखा पहारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव हरि अर्यालले सञ्चालन गर्नुभएको थियो भने क्लबका बोर्ड सदस्य गोविन्द गौतम उपाध्यायले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा रोटरी क्लबका सदस्यहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया