जलनबाट बच्ने उपाय र प्राथमिक उपचारबारे विद्यार्थीलाई सचेतना

Rastriyanews

पाल्पा। तानसेन नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयमा जलनबाट बच्ने उपाय तथा प्राथमिक उपचारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कक्षा ९ का ४१ जना विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न कारणबाट हुने जलन, जलनबाट बच्ने उपाय, जलन भइहालेमा गर्नुपर्ने प्राथमिक उपचार तथा अपनाउनुपर्ने सावधानीबारे अभिमुखीकरण गरिएको थियो।

कार्यक्रममा आयोजक संस्थाका तर्फबाट सुबास भण्डारीले जलनसम्बन्धी सचेतनामूलक भिडियो प्रस्तुत गर्दै विद्यार्थीलाई आवश्यक जानकारी दिनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका–३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले विद्यार्थीमार्फत जलनसम्बन्धी सचेतना अभिभावक तथा समुदायसम्म पुर्‍याउन सहज हुने बताउनुभयो।

पत्रकार विष्णुप्रसाद घिमिरेले पछिल्लो दुई वर्षमा युनाइटेड मिसन अस्पतालमा उपचार गरिएका जलनका बिरामीसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै जलनका प्रमुख कारण, बिरामीको उमेर समूह र उपचारको अवस्थाबारे जानकारी दिनुभयो। उहाँले जलनको जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको बताउनुभयो।

युनाइटेड मिसन अस्पतालकी सामाजिक सेवा शाखा इन्चार्ज धना थापाले आर्थिक अवस्था कमजोर भएका तथा सहयोग आवश्यक पर्ने जलनका बिरामीलाई अस्पतालको सामाजिक सेवा शाखाबाट उपलब्ध गराइने सहयोगबारे जानकारी दिनुभयो।

विद्यालयका प्रधानाध्यापक हरि घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्यु एकता क्लबका सचिव अच्युत खनालको समेत आतिथ्यता रहेको थियो।

समापन कार्यक्रममा प्रधानाध्यापक घिमिरेले जलनबाट बच्ने उपाय र जलन भइसकेपछि अपनाउनुपर्ने प्राथमिक उपचारबारे सही जानकारीले जोखिम कम गर्न सहयोग पुग्ने बताउँदै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

विद्यार्थीमा जलनबाट बच्ने उपाय, जोखिम न्यूनीकरण तथा प्राथमिक उपचारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। जलनसम्बन्धी सचेतना र सहयोगका क्षेत्रमा कार्यरत बि.भि.एस. नेपालले सन् २००८ देखि आर्थिक अवस्था कमजोर भएका तथा सहयोग आवश्यक भएका जलन प्रभावितलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार