यस प्रकृति जगतमा विभिन्न प्राणीहरूको अस्तित्व रहेको पाइन्छ । तीमध्ये मानव सचेत प्राणी ठानिन्छ । जन्मेदेखि नमरुञ्जेलसम्मको अर्थपूर्ण र सक्रियता हुञ्जेलसम्मको समयावधि नै मानव जीवन हो । जिएको वा धर्तीमा रहुञ्जेल केही गरेको अवस्था नै मान्छेको जीवन हो । खानु, पिउनु, सुत्नु वा विलासीपूर्ण रूपले मनोरञ्जन गर्दैमा मात्र त्यो जीवनको अर्थ रहदैन । यस अर्थमा भन्दा बाँच्नुको अर्थ राख्न नसक्नेको जीवन जिएजस्तो हुँदैन । शरीर त छ तर बाँच्नका लागि केही पुरूषार्थ (कर्म) गर्दैन, केवल अर्काको भरमा बाँचेको छ भने त्यो बाँच्नुको के सार भो र ? त्यस्तो जीवनको के औचित्य रहन्छ र ? तसर्थ जीवन केही गर्नका लागि हो; सेवा, समर्पण, त्याग देखाउनका लागि हो ।>
जीवन बाँच्नेहरूलाई कर्म गरेर उदाहरणीय बन्न धेरै लामो आयु चाँहिदो रहेनछ । ‘गर्नेलाई जहींतहीं, नगर्नेलाई कहीं न कहीं ।’ गर्नेहरूको जीवन गरेरै बित्छ, गफीहरूको जीवन गफै गरेर मात्र पनि बित्छ । जीवन समय हो, अवसर हो । जीवन पुरुषार्थ हो । जीवन पाउनु भाग्य हो । यही जीवन पाएर यहाँ धर्तीमा कर्मका माध्यमबाट कर्मको सुगन्ध फैलाउनेहरू छन् । मनमस्तिष्क, हात, पाखुरी र सोचविचारको उचित तालमेलबाट मानवले कर्मका अनेक चमत्कार गर्न सक्छ गरेका पनि छन् । जीवन केका लागि बाँच्ने ? भन्नेमा हरेक मानिसका आआफ्नै बुझाइ हुन सक्छन् । यस धर्तीमा बाँच्ने मध्येका कोही डाक्टर, इञ्जिनियर, कलाकार, कोही संगीतकर्मी, रंगकर्मी, कोही नेता, शिक्षक, प्राध्यापक, कोही कृषक, मजदुर, भरिया, कोही पत्रकार आदि थुप्रै तहतप्का र विचार समूहका रहेका छन् । बुझाइ, भोगाइ, देखाइ, सुनाइ आदिका आधारमा जीवनको परिभाषा अर्थ फरक पाइन्छन् । आशावादी र निराशावादी बन्नेहरूका जीवन आकाश र जमिनजस्तै फरक धारमा रहन्छन् । यही जीवनमा हरेक मानिसका मूल्य, मान्यता, भावना, संस्कार, कार्यशैली पनि फरक पाइन्छन् । सबैको जीवन एकसमान हुँदैन किनकि त्यहाँ समान र अनुकूल वातावरण एकनासले सबलाई मिल्दैन ।>
मान्छेले आफ्नो जिम्मेवारी, दायित्व, कर्तव्यबोध केकति बहन गरेको छ त्यस आधारमा पनि उसको जीवन सफल असफल के भएको हो जाँचिन्छ । व्यक्तिगत स्वार्थ सिद्ध हुन सकेर मात्र जीवन सफल भएको मान्न सकिन्न । जीवन जीवन, सोच र समय लिनका लागि मात्र होइन केही दिनका लागि अवश्य हो । व्यक्तिगत लाभ घाटा हेर्नेले जीवनमा कहीँकतै कसैलाई केही सेवा गर्न सक्दैनन् । आफ्नो जिम्मेवारी, मूल्यमान्यता, सिद्धान्तलाई व्यवहारमा पालना गर्नेहरूले मात्र जीवन बाँचेको औचित्य पुष्टि गर्न सक्दछन् । परिवारवाद, व्यक्तिवाद र पार्टीवादभन्दा माथि उठेर सच्चा भावले कर्म गरेमा जीवन अवश्य सफल हुन्छ । जीवनमा कुनै काम सहजै सम्पन्न हुन सक्दैनन्, सफलता सजिलै आइलाग्दैन त्यसका लागि संघर्ष वा चुनौति सामना गर्ने शक्ति चाहिन्छ । जीवनमा इच्छाइएका कुरा जति सबै प्राप्त हुँदैनन् । जीवन बाँच्नेले सर्वप्रथम स्वावलम्वनको पाठ राम्ररी पढ्नुपर्छ, स्वावलम्बी हुनुपर्छ । हरेक पल महŒवपूर्ण ठानी कर्मयात्रामा जुटिरहनु पर्दछ । के गर्ने, आफू के बन्ने भन्ने कुराको अन्तिम निर्णय आफ्नै हातमा छ । जागरण (जागृति) बिना कुनै चीज पाइन्न । चाहेजस्तो सोचेजस्तो जीवन सहजै हुने भए सबैले ठूल्ठूला सपना देख्थे होलान्, योजना ठूल्ठूला बनाउथे होलान् । जीवन जिउने शैली आआफ्ना हुन्छन् । जीवन एक खेल जस्तै हो । हामी त्यसका खेलाडी । कसैले जीवन एउटा रंगमञ्च मान्दछन् जसका हामी पात्रहरू हौं । चाहदैमा जीवन रहिरहदैन । समयचक्रको खेलले एकदिन जीवन समाप्त पारिछाड्छ । फेरि अर्कोतर्फ हेर्दा मृत्युपछि पनि जीवन अस्तित्व राख्नुपर्छ भन्ने जो त्योलाई थाहा नहुन सक्छ । ‘मरेपछि सिद्धियो’ भन्नुको कुनै तुक हुँदैन । शरीरको अन्त्य भएपछि पनि गरेका कर्म जीवन्त बन्नुपर्छ । यस अर्थमा मृत्युपछि पनि जीवन हुनुपर्छ भनिएको हो । जीवन जितिनुपर्छ, हार्नका लागि होइन ।>
जीवनमा पाखुरीको कमाइ साह्रै मीठो हुन्छ । यस्तो कमाइ अमृतसमान हुन्छ । जतिबेला पनि जीवनलाई आर्थिक चिन्तनमा मात्र लगाउनेले निस्वार्थ र सामहिक भावनाको विकास गर्न सक्दैनन् । जीवन एउटा मुहान हो । आफ्ना पौरख, मेहनत, बाहुबल, विश्वास, लगाव आदिले धेरै मूल फुट्छन् । इच्छाशक्तिको उचित तालमेलले जस्तासुकै कठिन कार्य पनि टुङ्गो लागिछाड्छन् । उद्देश्यबिहीन, गन्तव्यविहीन भई कोही नबाचौँ । जीवन एक अमूल्य सम्पत्ति हो । समयमै यसलाई रक्षा गर्न सिक्नुपर्छ । जीवन परीक्षण पनि हो । परीक्षण सफल रूपमा देखिनु पर्दछ । जीवनप्रति सबैको आशाभरोशा रहनु पर्दछ । जीवन एक अमूल्य मणि हो । जसलाई चिनेर समयमै त्यसलाई सजाएर राख्न सक्नुपर्छ । समय सिद्धिएपछि । आफलाई धिक्कारेर वा अरूप्रति दोषारोपण गर्नुको कुनै अर्थ छैन । तसर्थ बाँचेको अवसरलाई सदुपयोग गरौं । आखिर जीवनदेखि थाक्नेले के नै पो गर्न सक्छन् र ? एउटा जीवन अर्कोको लागि उदाहरणीय र प्रेरक हुन सक्नुपर्छ । उद्देश्य लक्ष्य राख्दा समय, साधन, श्रोत, साधनाले भेट्न सक्ने मात्र राखौँ । सबैले एउटै लक्ष्य राख्नुपर्छ भन्ने छैन । जसरी भएपनि जुन क्षेत्रमा रहेर पुगेर पनि जीवनमा केही गरेको भन्ने प्रमाण पेस गर्न सके बाँचेको जीवनको अर्थ त्यही भेटिनेछ । सही जीवन बाँचेकाहरू युगौंयुगसम्म चर्चित रहन्छन् । गाउँ, शहर अथवा हिमाल, पहाड, तराई जहाँ रहे पनि जीवन बाँच्नुको अर्थ खोजेकै हुनुपर्छ । पशुसरह पनि के जीवन बिताउनु र ! मान्छे भएर जीवनमूल्यबोध भएन भने धर्तीको बोझसरह हुनुवाहेक अरू के पो हुन सकिन्छ र ? अर्काको छिःछि र दूरदूर भएर पनि के बाँच्नु र ? नाम कमाउने गरी अथवा सफलता पाउने गरी अथवा बाँचेको अर्थ हुने गरी धर्तीमा अस्तित्व राख्न सानै भए पनि होस् तर अर्थ र उपलब्धिमूलक हुने किसिमले कर्म गरौं । जतिञ्जेल धर्तीमा रहिन्छ धर्तीको ऋण तिरौँ । सकेसम्म नाम कमाऔँ कर्मले । परनिर्भर भएर कोही नवाचौँ । जीवनको मूल्याङ्गनमा आफूलाई उच्च स्थानमा राखौँ । सकेसम्म त उच्चतम सफलता नै हात पार्नु बेश हो । कुनै न कुनै क्षेत्रमा विशिष्ट स्थान हासिल गर्नसके त्यो नै जीवन जिउनुको अत्युत्तम पक्ष हो ।>
लेखक: राम ज्ञवाली
रिब्दीकोट–४, नारायणथोक, पाल्पा
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन