पाल्पा । रामपुर नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहतस्वरूप आर्थिक सहयोग गर्ने भएको छ।
भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि नगरपालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आएको उपप्रमुख तीज विशेष कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि विनियोजन गरिएको बजेट बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो।>
नगरपालिकाका महिला जनप्रतिनिधि तथा कर्मचारीहरूको बैठकले तीज गीत प्रतियोगिताका लागि छुट्याइएको २ लाख ५० हजार रुपैयाँ बाढीपीडितको राहतका लागि सहयोग गर्ने निर्णय गरेको कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले जानकारी दिनुभयो।>
विपद्को समयमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम नै स्थगित गरी सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो। देश शोकमा डुबेको अवस्थामा प्रतियोगितात्मक कार्यक्रमभन्दा पीडित परिवारलाई राहत पुर्याउनु तीनै तहका सरकारसहित सबैको जिम्मेवारी भएको उपप्रमुख थापाको भनाइ छ।>
बाढीपीडितका लागि नगरपालिकाको तर्फबाट छलफल गरी थप सहयोग गर्ने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो। अप्रत्याशित रूपमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा बेपत्ताको खोजी कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको छ।>
त्यस्तै, विपद्को समयमा चाडपर्वका नाममा विभिन्न कार्यक्रम गर्नुभन्दा सबै एकजुट भएर आफ्नो क्षमताअनुसार राहत सहयोग गर्न उहाँले नगरवासीलाई अनुरोध गर्नुभएको छ।>
उपप्रमुख थापाका अनुसार रामपुर नगरपालिकाभित्रका केही नगरवासी पनि उक्त क्षेत्रमा काम, भ्रमण तथा यात्राका क्रममा रहेका छन्। उनीहरूको सम्पर्क तथा खोजी भइरहेको भन्दै सम्पर्कविहीन भएका नगरवासीबारे सम्बन्धित वडाका वडा अध्यक्षलाई जानकारी गराई खोजी तथा विवरण संकलनमा सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ।>
महिला लक्षित कार्यक्रमअन्तर्गत उपप्रमुख तीज विशेष कार्यक्रमका लागि विनियोजन गरिएको बजेटबाट हुने सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा शाखा प्रमुख पूजा परियारले जानकारी दिनुभयो।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन