पोखरा, असोज २९ । कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार बिहान करिब ७ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा–१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७, विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको हो।>
कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएको थियो।>
दुर्घटनामा घाइते भएका चालक श्रेष्ठ र पैदलयात्री कुमाललाई उपचारका लागि विरौटास्थित नोबेल अस्पताल लगिएको थियो। थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएका दुवैलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका प्रहरीले जनाएको छ।>>