काक्राको उचित मूल्य नपाउँदा पूर्वखोला र माथागढीका कृषक मर्कामा

Rastriyanews

माधव पाण्डे,पाल्पा । काक्राको उचित बजार मूल्य नपाउँदा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा र माथागढी गाउँपालिका–८ बहादुरपुरका कृषक मर्कामा परेका छन्।

कृषकहरूले जल्पा तथा बहादुरपुरबाट आर्यभञ्ज्याङ हुँदै तानसेन बजारसम्म काक्रा पुर्‍याउँदा अहिले प्रतिकेजी करिब ३० देखि ४० रुपैयाँ मात्रै मूल्य पाउने बताएका छन्। गाउँबाट बजारसम्म काक्रा ढुवानी गर्दा सवारीसाधनको भाडासमेत तिर्नुपर्ने भएकाले प्राप्त मूल्यले उत्पादन र ढुवानी खर्च धान्नसमेत कठिन भएको कृषकहरूको गुनासो छ।

कृषकहरूका अनुसार तोरी छर्ने समय नजिकिँदै गएको छ। काक्रा बिक्री गरेर बारी खाली गरी तोरी छर्नुपर्ने अवस्थामा बजारमा उचित मूल्य नपाउँदा थप समस्या भएको उनीहरूको भनाइ छ।

स्थानीय कृषकहरूले गाउँमै कृषि उत्पादन बढाउन मेहनत गरिरहेका छन्। तर उत्पादनको उचित मूल्य नपाए कृषि पेशामा टिकिरहन कठिन हुने उनीहरू बताउँछन्।

कृषकहरूले कृषि उपजको बजारीकरण, उचित मूल्य र ढुवानी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन्। गाउँमै उत्पादन हुने कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न सके कृषकलाई थप प्रोत्साहन मिल्ने उनीहरूको अपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार