बुटवल। विश्व जलन सप्ताह २०२६ को अवसरमा जलन न्यूनीकरण तथा जलन प्रभावित व्यक्तिहरूको उपचार, हेरचाह र पुनर्स्थापनाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा समुदायस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ।>
वि.भि.एस. नेपालको आयोजना तथा बुटवल उपमहानगरपालिका वडा नं. ११ को समन्वयमा सम्पन्न कार्यक्रममा विभिन्न टोल विकास समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकासहित ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो।>
कार्यक्रमको सञ्चालन वडा सचिव रोमाकान्त आचार्यले गर्नुभएको थियो। कार्यक्रममा वि.भि.एस. नेपालका फिल्ड अफिसर निर्मल न्यौपाने र मनोविमर्शकर्ता सुबास भण्डारीले संस्थाको परिचय, उद्देश्य तथा जलन प्रभावित व्यक्तिहरूको उपचार, हेरचाह, मनोसामाजिक सहयोग र पुनर्स्थापनाका क्षेत्रमा संस्थाले गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभएको थियो।>
छलफलका क्रममा सहभागीहरूले जलनका कारण, रोकथामका उपाय, प्राथमिक उपचार तथा जलनपश्चात् अपनाउनुपर्ने सावधानीबारे जिज्ञासा राखेका थिए। सहभागीका जिज्ञासालाई सम्बोधन गर्दै सहरी स्वास्थ्य केन्द्र, बुटवल–११ का इन्चार्ज डा. युवराज भण्डारीले जलनसम्बन्धी स्वास्थ्य जानकारी तथा आवश्यक उपचार प्रक्रियाबारे प्रकाश पार्नुभएको थियो। उहाँले यस्ता सचेतनामूलक कार्यक्रम सबै टोलमा सञ्चालन गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो।>
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. ११ का कार्यवाहक अध्यक्ष युवराज रानाले जलन न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।>
कार्यक्रममा जलन प्रभावित सुनिता अधिकारीले जलनपश्चात् आफूले भोग्नुपरेका शारीरिक, मानसिक तथा सामाजिक समस्याहरू र जलन प्रभावित व्यक्तिहरूले समुदायबाट अपेक्षा गर्ने सहयोग, सद्भाव र सकारात्मक व्यवहारबारे आफ्नो अनुभव सुनाउनुभएको थियो। उहाँको अनुभवले सहभागीहरूलाई जलन प्रभावित व्यक्तिहरूको वास्तविक अवस्था बुझ्न तथा उनीहरूप्रति संवेदनशील हुन प्रेरित गरेको थियो।>
कार्यक्रमले जलन रोकथाम, प्राथमिक उपचार, समयमै स्वास्थ्य सेवामा पहुँच तथा जलन प्रभावित व्यक्तिहरूको सम्मानजनक पुनर्स्थापनामा समुदायको भूमिका महत्त्वपूर्ण हुने सन्देश दिएको छ।>
जलन प्रभावित व्यक्तिहरूलाई सहानुभूति मात्र नभई सम्मान, सहयोग र सामाजिक स्वीकार्यता आवश्यक रहेको सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।>>