नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।>
बुधबार राति करिब ९ बजे लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर एकापसमा ठोक्किएर दुर्घटना भएको हो।>
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो।>
दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये विनयी त्रिवेणी गाउँपालिका–४ का रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ।>
त्यस्तै, गम्भीर घाइते भएका अश्विन चौधरी र निर्मल चौधरीलाई पनि थप उपचारका लागि सोही अस्पतालमा रिफर गरिएको छ।>
अन्य घाइतेमध्ये सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन्। प्रिन्स विकलाई मध्यविन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरीलाई सेवा मेडिकल, अरुणखोलामा उपचारपछि डिस्चार्ज गरिएको छ।>
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>>