काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबारदेखि देशभरका प्रमुख नदी तथा खोलामा जलसतह बढ्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहीबार बिहान विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी पाँच दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकालीलगायतका नदी प्रणालीमा पानीको बहाव बढ्ने जनाएको हो।>
महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि बिहीबारदेखि असोज १२ गतेसम्म यी नदीको बहाव क्रमशः बढ्ने पूर्वानुमान गरिएको छ।>
कोशी जलाधारअन्तर्गत सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायतका नदीमा बिहीबारदेखि नै जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।>
त्यस्तै, नारायणी प्रणालीअन्तर्गत त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, बडिगाड र कालीगण्डकी तथा कर्णाली प्रणालीका ठूली भेरी, भेरी र पश्चिम सेतीलगायतका नदीमा असोज ९ गतेदेखि १२ गतेसम्म बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ।>
बागमती, पूर्वी राप्ती, तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि शुक्रबारदेखि लगातार चार दिनसम्म बढ्ने पूर्वानुमान छ।>
ठूला नदीसँगै देशभरका साना नदी तथा खोलामा समेत बिहीबारदेखि आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। ताप्लेजुङदेखि सुदूरपश्चिमको कालिकोटसम्मका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा पानीको सतह उल्लेख्य बढ्न सक्ने बताइएको छ।>
कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरीदेखि मधेस प्रदेशका सप्तरी, सिरहा र पर्सासम्म तथा बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, धादिङ र चितवनमा बाढीको जोखिम औँल्याइएको छ।>
त्यसैगरी गण्डकी प्रदेशका गोरखा, कास्की, मनाङ, मुस्ताङ र बागलुङ तथा लुम्बिनी र कर्णाली प्रदेशका रुकुम, रोल्पा, बाँके, बर्दिया, सुर्खेत र जुम्लालगायतका जिल्लाका साना नदी तथा खोलामा पनि पानीको सतह बढ्ने पूर्वानुमान गरिएको छ।>
महाशाखाले लगातारको वर्षा र नदीमा बढ्दो जलसतहलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन तथा नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन