कपिलवस्तु, कात्तिक ११ गते । कपिलवस्तुको वाणगंगा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।>
बुधबार बिहान करिब ८ः५५ बजे वाणगंगा नगरपालिका–३, तीनकुनेस्थित चार नम्बर–तौलिहवा सडकखण्डमा मोटरसाइकलको ठक्करबाट वाणगंगा नगरपालिका–४, गजेहडाकी करिब ६३ वर्षीया जलिया थारुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।>
प्रहरीका अनुसार चार नम्बरबाट तौलिहवातर्फ जाँदै गरेको लु १ व ३४१६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी थारुलाई ठक्कर दिएको थियो । ठक्करबाट टाउकोमा गम्भीर चोट लागेपछि उहाँलाई उपचारका लागि ठाकुरापुरस्थित युनाइटेड अस्पताल लगिएको थियो ।>
अस्पतालमा चिकित्सकले बिहान १०ः१० बजे स्वास्थ्य परीक्षण गर्दा उहाँलाई मृत घोषणा गरेका थिए ।>
प्रहरीले मोटरसाइकल चालक वाणगंगा नगरपालिका–१ निवासी ४५ वर्षीय शिवलाल घिमिरेलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।>>