समाचार २५ असोज २०८३, आइतबार

बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति

Rastriyanews

गोरखा, असोज २५।

बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

स्थानीय विशाल घलेका अनुसार बाढीले सल्लेरी बजार बगाउनुका साथै जगत बजारमा पनि ठूलो क्षति पुर्‍याएको हो।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि बाढीको कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

आइतबार बिहानै नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिएको थियो।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिए। बाढी तल्लो तटीय क्षेत्रतर्फ बगिरहेकाले उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

बाढीबाट भएको क्षति तथा सम्भावित जोखिमबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार