काठमाडौँ, कात्तिक २९ गते । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ।>
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बादल लाग्नेछ।>
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।>
त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।>
यसैगरी, हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।>
सम्भावित वर्षा, हिमपात, चट्याङ तथा असिनाको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन आग्रह गरेको छ।>>