दाङ । दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।>
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले उक्त घरबाट नौ जनालाई पक्राउ गरेको हो।>
प्रहरीले उक्त स्थानबाट चार लाख आठ हजार १२० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ।>
पक्राउ पर्नेमा घोराही–१४ का नवलसिंह डाँगी, घोराही–१३ का निमबहादुर भण्डारी, माडी गाउँपालिका–३ का तुलबहादुर खड्का र रामकृष्ण खड्का, घोराही–१८ का बसन्त बुढाथोकी, घोराही–१४ का यदुनाथ पाण्डे र निमेश भण्डारी, घोराही–१० का हिमराज केसी तथा नयाँबजारका ४१ वर्षीय चन्द्रदेव बुढा रहेका छन्।>
यसैगरी, प्रहरीले घोराही उपमहानगरपालिका–१५ स्थित भुपबहादुर डाँगीको घरमा पनि छापा मारेको थियो। पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उक्त स्थानबाट आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।>
दोस्रो स्थानबाट एक लाख चार हजार ५८० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ।>
पक्राउ पर्नेमा घोराही–१५ का केशरबहादुर पछाई, भुपबहादुर डाँगी, लुमासिंह बस्नेत, निमबहादुर पुन र गिरीराज केसी, घोराही–१४ का ओबिन्द्र महरा, घोराही–१६ का वडाध्यक्ष तारा डाँगी तथा रोल्पाको रुन्टीगढी गाउँपालिका–५ का हिरालाल रावत रहेका छन्।>
प्रहरीका अनुसार दुवै स्थानबाट गरी कुल पाँच लाख १२ हजार ७०० रुपैयाँ नगद र छ गड्डी तास बरामद गरिएको छ। पक्राउ परेका सबै १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।>>