रिब्दीकोटमा पौरखी समूहको उदाहरणीय सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार

Rastriyanews

पाल्पा । ‘सेवा नै धर्म हो’ भन्ने सन्देशलाई आत्मसात् गर्दै रिब्दीकोट गाउँपालिकाले सञ्चालन गरेको विपद् सहयोग अभियानमा पौरखी समूह रिब्दीकोट–६, पोरकनीले हातेमालो गरेको छ।

रिब्दीकोट गाउँपालिका–६ स्थित पौरखी समूह पोरकनीले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३० हजार रुपैयाँ सहयोग गरेको हो। समूहले उक्त रकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र वरिष्ठ लेखापाल सूर्यबहादुर थापालाई हस्तान्तरण गरेको छ।

टोलका समाजसेवी इन्द्रजंग रायमाझी र किरण रायमाझीको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आह्वान गरेको विपद् सहयोग अभियानमा जोडिँदै समूहका सदस्य तथा स्थानीय कृषक इन्द्रजंग रायमाझीले विपद् जुनसुकै बेला जोकोहीमाथि पर्न सक्ने भएकाले आफ्नो सानो सहयोगले पनि विपत्तिमा परेका नेपाली नागरिकको उद्धार तथा जीवनरक्षामा योगदान पुग्ने विश्वासले सहयोग गरिएको बताउनुभयो।

“हामी गाउँमा बस्ने किसानहरूको समूह हौँ। विपत्तिको समयमा एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनालाई आत्मसात् गर्दै गाउँपालिकाको अभियानमा जोडिएका हौँ,” रायमाझीले राष्ट्रिय न्युजसँग भन्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले सहयोगका लागि पौरखी समूहप्रति धन्यवाद व्यक्त गर्दै विपद्को समयमा बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्न इच्छुक सबैलाई गाउँपालिकाको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार