काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद माधवबहादुर थापाले पाल्पामा श्रमिकहरूमाथि भएको कुटपिटको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।>
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले जनप्रतिनिधिकै नेतृत्वमा भएको भनिएको हिंसात्मक घटनाले विधिको शासन र राज्यको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको बताए ।>
सांसद थापाले पाल्पामा श्रमिकहरू कामको सिलसिलामा भेला भएर कुराकानी गरिरहेको अवस्थामा भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजु श्रेष्ठ र अर्जुन श्रेष्ठसहितको समूहले उनीहरूमाथि कुटपिट गरेको दाबी गरे ।>
उनले भने, ‘हिजो मेरो जिल्ला पाल्पाका श्रमिकहरू कामको सिलसिलामा भेला भई कुराकानी गरिरहेको अवस्थामा भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजु श्रेष्ठ र अर्जुन श्रेष्ठसहितको समूहले उनीहरूमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको छ।’>
थापाका अनुसार घटनामा एक जना श्रमिकको हात र खुट्टा भाँचिएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । उनले जनप्रतिनिधिको नेतृत्वमै भएको भनिएको यस्तो हिंसात्मक घटना अत्यन्त गम्भीर र आपत्तिजनक रहेको बताए ।>
कामको सिलसिलामा जिल्ला बाहिर पुगेका श्रमिकमाथि जनप्रतिनिधिकै नेतृत्वमा आक्रमण हुनु राज्यको शान्ति सुरक्षाको अवस्थामाथि प्रश्न उठाउने विषय भएको उनको भनाइ छ ।>
थापाले घटनामा संलग्न व्यक्तिहरू जनप्रतिनिधि तथा प्रहरीका समेत नजिकका व्यक्ति भएको भन्दै निष्पक्ष छानबिन र कारबाही हुनेमा आशंका उत्पन्न भएको बताए ।>
‘घटनामा संलग्न व्यक्तिहरू जनप्रतिनिधि र प्रहरीका समेत नजिकका मान्छे भएकाले निष्पक्ष छानबिन र कारबाही नहुने हो कि भन्ने शङ्का उत्पन्न भएको छ,’ उनले भने ।>
सांसद थापाले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै घटनाको तत्काल निष्पक्ष छानबिन गर्न र दोषी देखिएका व्यक्तिमाथि कडा कानुनी कारबाही गर्न माग गरे ।>
उनले राज्यका निकायले पीडितलाई न्यायको अनुभूति दिलाउनुपर्नेमा जोड दिँदै प्रहरी नै पीडकको संरक्षण गर्ने अवस्थामा पुगे सर्वसाधारणले न्याय कहाँ खोज्ने भन्ने प्रश्नसमेत उठाए ।>
‘यदि प्रहरी नै पीडकको संरक्षण गर्ने अवस्थामा पुग्यो भने सर्वसाधारणले न्याय कहाँ खोज्ने ? कानुनभन्दा माथि कोही हुँदैन भन्ने कुरा व्यवहारमै प्रमाणित गरियोस्,’ थापाले भने ।>
जनप्रतिनिधि हुनुको अर्थ जनतामाथि बल प्रयोग गर्ने अधिकार प्राप्त हुनु नभएको स्पष्ट पार्दै उनले राज्यको नजरमा सबै नागरिक समान हुनुपर्ने बताए ।>
उनले घटनाका पीडितहरूको उपचार, सुरक्षा र न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गर्दै घटनालाई गम्भीरतापूर्वक लिएर आवश्यक कदम चाल्न आग्रह गरे ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन