समाचार राष्ट्रिय समाचार २३ भाद्र २०८३, मङ्गलबार

खोज तथा उद्धारको काम तदारुकतासाथ जारी छ : प्रधानमन्त्री शाह

Rastriyanews

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ। जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली निरन्तर खोज तथा उद्धारमा खटिएको उहाँले जानकारी दिनुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा बाढीका कारण हेडवर्क्सका सम्पूर्ण संरचना तथा पावरहाउस बाहिर र भूमिगत पावरहाउसमा रहेका अधिकांश सामग्रीमा क्षति पुगेको छ।

लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएको दिनदेखि नै खोजी कार्यका लागि रेकी गरिएको उहाँले बताउनुभएको छ। भदौ १३ गते नेपाली सेना र भारतीय विशेषज्ञ टोलीले सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र प्रवेश गरेको थियो। ग्यास वेल्डिङमार्फत सुरुङमा प्वाल बनाएर भित्र प्रवेश गर्दा दुई शव फेला परेको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ।

चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा नेपाली सेनाको टोली भदौ १० गते नै पुगेको थियो। दलदलका कारण सुरुङभित्र प्रवेश गर्न कठिनाइ भएपछि भदौ १३ गते भारतबाट आएको विशेषज्ञ टोलीसहित रेकी गरिएको उहाँले बताउनुभएको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० गतेदेखि खोजी कार्य सुरु गरिएको थियो। चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ गते रेकी गरेपछि भदौ १४ गतेदेखि नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले संयुक्त रूपमा खोजी अघि बढाएको थियो। सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै करिब २०० मिटरभित्र प्रवेश गर्दा ताल भेटिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार अर्को आयोजना क्षेत्रमा पनि बाढी गएको पहिलो दिनदेखि नै खोजी सुरु गरिएको थियो। तर सुरुङको मुख पत्ता लगाउन ठूलो समस्या भएपछि नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले भदौ १२ गते रेकी गरेको थियो। भदौ १३ गतेदेखि खोजी कार्य अघि बढाइएको र सुरुङको मुख खोल्न काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनाबाट विस्फोटक पदार्थ ल्याइएको उहाँले बताउनुभएको छ।

त्रिशूली–३ ‘बी’ मा पनि खोजी जारी

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नै खोजीको प्रयास भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। भदौ १३ गते चिनियाँ टोलीले रेकी गरे पनि दलदलका कारण खोजी उपकरण सुरुङभित्र लैजान समस्या भएको थियो।

आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङभित्र करिब १.७ किलोमिटरसम्म प्रवेश गरेको उहाँले बताउनुभएको छ। खोजीका लागि थप उपकरण लैजाने क्रम जारी रहेको छ।

बाढीका कारण आयोजनाका ६ वटा आवासीय र एउटा कार्यालय भवन पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।

बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा धेरै मानिस सम्पर्कविहीन भएको भन्दै प्रधानमन्त्री शाहले खोज तथा उद्धार कार्यमा कुनै कमी हुन नदिने बताउनुभएको छ।

उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त टोली जोखिमपूर्ण अवस्थामा समेत निरन्तर खटिरहेको तथा मित्रराष्ट्रबाट समेत विशेषज्ञ टोलीहरू सहयोगका लागि आइरहेको जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार