रामपुर पाल्पा,७ फागुन
पाल्पाको रामपुरमा सम्पन्न जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले हात पारेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा गत फागुन ३ गते देखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा जिल्ला भलिबल संघ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि हात पारेको हो ।
स्याङ्जाले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५ र २०, २५र१४ र २५र१५ अंक सहित हात पारेको थियो । यस संगै नवलपुर द्वितिय स्थानमा समेटिएको छ । ७ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा आयोजक जिल्ला भलिबल संघ पाल्पाले तृतीय उपाधी प्राप्त गरेको छ । तृतिय स्थान छनौट खेलमा जिल्ला भलिबल संघ बाग्लुङलाई ३र१ सेटले पराजित गर्दै पाल्पाले तृतिय उपाधी हात पारेको हो । तेस्रो स्थान छनौट खेलमा जिल्ला भलिबल संघ पाल्पाले पहिलो, दोस्रो र चौथो सेट २५र१७, २५र१८, २५र१६ अंक सहित हात पारेको थियो भने तेस्रो सेट २५र२२ अंक सहित बाग्लुङले हात पारेको थियो ।
जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका सञ्जु विक्रम शाही, वेष्ट ब्लकर नवलपुरका हिमाल सुनारी, वेष्ट स्पाइकर स्याङ्जाका हरि पाण्डे, वेष्ट सेटर स्याङ्जाका सुदिप राना, वेष्ठ सर्भर पाल्पाका आशिष श्रेष्ठ र वेष्ट डिफेण्डर स्याङ्जाका राजन दर्लामी भएका छन् ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।













