काठमाडौं, असार ३१ - मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको गतिविधि बढ्ने पूर्वानुमान गरेका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सोमबार र मङ्गलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि मध्य र पश्चिम नेपालमा पुनः वर्षा बढ्ने सम्भावना रहेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ। मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षा बढ्ने संकेत देखिएको हो।
मौसमविद् अधिकारीका अनुसार अहिले हिमाली र तराई भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा बझाङमा ५४.८ मिलिमिटर मापन गरिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक आसपास र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा भएको विभागले जनाएको छ।
आज हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुने सम्भावना छ। यी प्रदेशका तराईका केही स्थानमा समेत वर्षा हुन सक्ने भए पनि मधेश प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास, पहिरोको जोखिम भएका स्थान र कमजोर भूबनोट भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।













