काठमाडौँ, असार १९ - यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको छ। इन्धनको मूल्यमा आएको गिरावटपछि बिहीबारदेखि लागू हुने गरी यात्रुवाहक तथा पहाड र तराईमा सञ्चालन हुने मालवाहक सवारीको नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ।
विभागका अनुसार डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँबाट घटेर १९२.८३ रुपैयाँमा पुगेको छ, अर्थात् करिब १८.२३ प्रतिशतले मूल्य घटेको छ। यद्यपि वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा २ प्रतिशत मात्रै घटाइएको हो। विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको हिस्सा ३५ प्रतिशत मात्र हुने र बाँकी ६५ प्रतिशत हिस्सा सवारीका पार्टपुर्जा, लुब्रिकेन्ट, श्रम लागत, बजार महँगीलगायत १३ वटा सूचकका आधारमा निर्धारण हुने जनाएको छ।
यसअघि २०८३ वैशाख १६ गते विभागले ५ प्रतिशत भाडा बढाएको थियो। विभागका अनुसार वैज्ञानिक प्रणालीअनुसार त्यतिबेला ९.८ देखि १४.३ प्रतिशतसम्म भाडा बढ्नुपर्ने भए पनि तत्कालीन परिस्थितिलाई ध्यानमा राख्दै ५ प्रतिशत मात्र वृद्धि गरिएको थियो। सोही कारण अहिले इन्धनको मूल्य उल्लेख्य रूपमा घट्दा पनि २ प्रतिशत मात्र भाडा घटाइएको विभागको भनाइ छ।
यता नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने निर्णयप्रति असन्तुष्टि जनाएको छ। महासङ्घका महासचिव टेकनाथ गौतमले स्वचालित मूल्य प्रणालीअनुसार अहिले करिब १ प्रतिशत मात्र भाडा समायोजन हुनुपर्नेमा सरकारले २ प्रतिशत घटाएर वैज्ञानिक मापदण्डविपरीत निर्णय गरेको आरोप लगाउनुभयो।
वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा स्वचालित रूपमा भाडा समायोजन गरिन्छ। यो प्रणाली २०६५ सालदेखि लागू हुँदै आएको छ।













