बुटवल । बुटवलमा नक्कली नेपाली नोट छाप्ने तथा कारोबार गर्ने आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका एक हजार दरका नक्कली नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलले विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की गंगा कुमारी पूर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ का किरणकृष्ण तिवारी, कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारु, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल, सिलिगुडी निवासी वासुमित्र आनन्द रहेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार विशेष सूचनाका आधारमा असार २६ गते उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये दुई जना यसअघि पनि नक्कली नोट कारोबारसम्बन्धी मुद्दामा कारबाही भोगिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको पनि खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।
घटनास्थलबाट प्रहरीले फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने विशेष कागज, कार्डबोर्ड, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन समेत बरामद गरेको छ।
पक्राउ परेका सबै व्यक्तिमाथि मुद्रासम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













