प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उपचारको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् र जलनका बिरामीले छिटो तथा प्रभावकारी सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्तो निर्देशन दिइएको उनले बताए।
प्रधानमन्त्री शाहले हाल प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डहरूको क्षमता सुदृढ गर्न, आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गर्न तथा सङ्घ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वयमार्फत गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।













