काठमाडौं, १० असार- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न पाउने भएका छन्। पार्टीका अनुसार विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेका १६३ जना प्रतिनिधिमध्ये महाधिवेशनमा प्रत्यक्ष उपस्थित हुन नसक्नेहरूलाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था मिलाइएको हो।
यस्तै, महाधिवेशन स्थलमा उपस्थित प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमार्फत मतदान गर्नेछन्। त्यसका लागि ८० वटा इलेक्ट्रोनिक मतदान मेसिनको व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
यस व्यवस्थाले देश तथा विदेशमा रहेका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्दै महाधिवेशनको निर्वाचन प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।













