गुल्मी, असार ३१ - अविरल वर्षापछि अवरुद्ध भएको गुल्मीको रिडी–वामी सडकखण्ड पुनः सञ्चालनमा आएको छ। गत असार २९ गते रातिको वर्षाले मुसिकोट नगरपालिका–५ तल्लोफाँटस्थित ठाडो गिरु खोलामा आएको बाढीले सडक कटान गरेपछि मङ्गलबार दिनभर सडक अवरुद्ध भएको थियो।
सडक सञ्चालनमा आएपछि अहिले सवारीसाधन एकतर्फी रूपमा आवतजावत गरिरहेका छन्। स्थानीय का अनुसार यो सडक कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग जोड्ने महत्वपूर्ण मार्ग हो। सडक बन्द हुँदा सयौं यात्रु र सवारीसाधन अलपत्र परेका थिए।
यसैबीच, सोमबार रातिदेखि अवरुद्ध रहेको गौडाकोट–जुभुङ–मजुवा सडक पनि सञ्चालनमा आएको छ।
उता, कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटस्थित पातुखोलामा आएको बाढीले एउटा ट्याक्टर बगाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका–२ का २४ वर्षीय खेमबहादुर मगरले चलाएको लु ४ त ४४२३ नम्बरको ट्याक्टर खोला तर्ने क्रममा बीच भागमा फसेपछि बाढीले बगाएको हो।
प्रहरी चौकी पुर्तिघाटबाट खटिएको टोलीले चालक मगरको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
त्यस्तै, मालिका गाउँपालिका–७ टुनीखोलामा माथिबाट आएको लेदोसहितको बाढीले लु ७२ प ९९७१ नम्बरको मोटरसाइकल पनि बगाएको छ। मोटरसाइकल चालक मालिका गाउँपालिका–५ का २४ वर्षीय सुनील दर्जी भने सकुशल रहेको प्रहरीले जनाएको छ।













