तानसेन - पाल्पा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी दर्ता भएको जनाएको छ।
सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अदालतका स्रेस्तेदार केशव पराजुलीले कुल २१ विषयगत शीर्षकमध्ये सम्बन्ध विच्छेदका ६४५ मुद्दा दर्ता भएको जानकारी दिनुभयो। तीमध्ये ५५५ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने ९० वटा विचाराधीन छन्।
उहाँका अनुसार अंश सम्बन्धी ४९ मुद्दामध्ये २१ वटा फछ्र्यौट भई २८ वटा बाँकी छन्। मानाचामलका १९ मुद्दामध्ये ९ वटा टुंगिएका छन् भने १० वटा विचाराधीन रहेका छन्।
फौजदारीतर्फ जबरजस्ती करणीका २० मुद्दामध्ये १५ वटा फछ्र्यौट भई ५ वटा बाँकी छन्। जबरजस्ती करणी उद्योगका ५ मध्ये ४ वटा टुंगिएका छन्। लागूऔषधका १० वटै, सवारी ज्यानका १५ वटै, उद्योग ज्यानका ५ वटै, कर्तव्य ज्यानका ५ वटै तथा हातहतियार तथा खरखजानासम्बन्धी २ वटै मुद्दा फछ्र्यौट भएका छन्। चोरी तथा डाँका सम्बन्धी १४ मुद्दामध्ये १२ वटा फछ्र्यौट भएका छन्।
बैंकिङ तथा आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ११ मुद्दामध्ये ४ वटा फछ्र्यौट भई ७ वटा बाँकी छन्। चेक अनादरका २ मध्ये १ वटा टुंगिएको छ भने लेनदेन सम्बन्धी ३१ मुद्दामध्ये १९ वटा फछ्र्यौट भएका छन्।
केही शीर्षकमा भने फछ्र्यौट दर न्यून रहेको देखिएको छ। बाल यौन दुर्व्यवहारको १ र गाली बेइज्जतीका ६ वटा मुद्दा अझै फछ्र्यौट हुन बाँकी छन्। घरेलु हिंसाका ७ मुद्दामध्ये ६ वटा फछ्र्यौट भएका छन् भने बहुविवाहको १ वटै मुद्दा टुंगिएको छ।
कार्यक्रममा जिल्ला न्यायाधीश हरिप्रसाद शर्माले अदालतले छिटो, छरितो र सर्वसुलभ न्याय प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले मुद्दा फछ्र्यौटको गतिलाई अझ प्रभावकारी बनाउँदै नागरिकलाई सहज रूपमा न्याय उपलब्ध गराउन अदालत प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
न्यायाधीश शर्माका अनुसार हाल पाल्पा जिल्ला अदालतमा डेढ वर्षभन्दा पुराना कुनै पनि मुद्दा विचाराधीन छैनन्।













