साउन ९, आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज घर–घरमा तुलसीको बिरुवा तुलसी मोठमा सारी चार महिनासम्म गरिने विशेष पूजा–आराधना सुरु भएको छ।
परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलको बिरुवा आज तुलसी मोठमा सार्ने चलन रहेको छ।
सनातन वैदिक परम्परामा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गरिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) सम्म तुलसीको विशेष पूजा, आराधना र दीप प्रज्वलन गर्ने धार्मिक परम्परा रहेको छ।
धार्मिक विश्वासअनुसार हरिशयनी एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा योगनिद्रामा रहनुहुन्छ भने कार्तिक शुक्ल एकादशीका दिन जागृत हुनुहुन्छ। यस अवधिलाई चतुर्मास पनि भनिन्छ।













